कुुकुरले सुँघेर पत्ता लगाउँछ कोभिड–१९
एजेन्सी- कुकुरले सुँघेर बिस्फोटक पदार्थ र ड्रग्स पत्ता लगाउने विषय नौलो होइन । विश्वका धेरै विमानस्थलमा यस्ता कुकुर परिचालन गरिएका हुन्छन् ।
तर, फिनल्यान्डको हेलसिन्की विमानस्थलमा परिचालित १० वटा कुकुर साँच्चै अनौठा छन् । विमानस्थल सञ्चालक फिनाभियाकाअनुसार मंगलबारबाट सुँघेर कोरोना भाइरस पत्ता लगाउने कुकुरहरुको समूह यहाँ परिचालन गरिएको छ ।
युरोपमा कोरोना भाइरसविरुद्धको लडाँइमा कुकुर प्रयोग गरिएको यो पहिलो अवसर हो । विश्वमा भने यस्तो प्रयोग दोस्रो हो । दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक कोरोना पहिचानका लागि कुकुर प्रयोग गरिएको थियो ।
‘कोभिड–१९ जित्नका लागि यो एक अतिरिक्त कदम हुनसक्छ,’ हेलसिन्की विमानस्थलका निर्देशक उल्ला लेट्टीजेफले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । फिनाभियाकाअनुसार तालिमप्राप्त कुकुरहरुले १०० मोलेक्लुस वा त्यसभन्दा पनि कम कण पत्ता लगाउन सक्छन् ।
जो पिसिआर परीक्षणमा प्रयोग हुने १९ मिलियन मोलेक्लुसको दाँजोमा निकै कम हो । हेलसिन्की विश्वविद्यालयले गरेको अध्ययनअनुसार कुकुरले भाइरस पहिचान झन्डै १ सय प्रतिशत नै सही गर्छ । जबकी, पिसिआरले सही नतिजा दिने दर ६६ देखि ८० प्रतिशत छ ।
यसअघि दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुँघेर कोरोना भाइरस पत्ता लगाउने कुकुरहरु यसरी नै परिचालन गरिएको थियो, जहाँ ९१ प्रतिशत सही नतिजा निस्किएको थियो ।
विमानस्थलका सञ्चालकहरुका अनुसार परीक्षण ल्याबको दाँजोमा कुकुरले अझै चाडों अर्थात् संक्रमित व्यक्तिले लक्षण देखाउनुअघि नै संक्रमित पहिचान गर्छ ।
प्रतिकृया दिनुहोस्