October 25, 2024, Friday
KN hd tv

पार्टी एकताका काम पूरा गर्ने गरी प्रस्ताव पेस गर्न १० दिनको समय

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले १० दिनभित्र पार्टी एकताका  बाँकी काम पूरा गर्ने गरी अध्यक्षद्वय ओली-प्रचण्ड र महासचिव पौडेलले ठोस प्रस्ताव सचिवालय बैठकमा पेस गर्न १० दिनको समय दिने निर्णय गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पार्टीका अध्यक्षद्वय र महासचिवले १० दिन भित्र पार्टी एकताका काम पूरा गर्ने गरी प्रस्ताव पेस गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। पार्टी एकता घोषणाको २ वर्षभन्दा बढी समय बितिसक्दा पनि पूरै काम सकिएको छैन।

बैठकले संवैधानिक निकायमा रिक्त पदमा संवैधानिक परिषदको बैठक छिटो बोलाउन प्रधानमन्त्रीसँग आग्रह गरेको छ। प्रधानमन्त्रीको पहलमा हुने बैठकमा सम्बन्धित अन्य पक्षलाई समेत सक्रियता बढाउन बैठकले आग्रह गरेको छ। संवैधानिक निकायमा करिब चार दर्जन सदस्य रिक्त रहेका छन्।

मंगलबारको बैठकमा मन्त्रीमण्डलका सदस्यको हेरफेरका सन्दर्भमा छलफल नभएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। स्थायी कमिटीले गरेका निर्णय कार्यान्वयन गर्नुका साथै पार्टी र सरकारको सम्बन्ध समधुर बनाउने विषयमा छलफल भएको उनले जानकारी गराए। २-३ दिन भित्रै पुनः सचिवालयको बैठक बस्ने श्रेष्ठले जानकारी दिए। 

गत आइतबारदेखि सुरू भएको सचिवालय बैठक जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा बसेको र दोस्रो चरण भने बालुवाटारमा बसेको हो।

शीर्ष समाचार

धेरै पढिएको