October 20, 2026, Tuesday
KN hd tv

रामबहादुर बमजनको घरबाट अहिलेसम्म ३ करोड ३० लाख रूपैयाँ बरामद

काठमाडौं – तपश्वीको भेषमा विभिन्न आश्रममा अपराधको श्रृंखला मच्चाएका रामबहादुर बमजनको घरबाट प्रहरीले अहिलेसम्म तीन करोड ३ लाख नेपाली रूपैयाँ फेला पारेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार बमजनको घरमा छापामार्दा नेपाली रूपैयाँमात्र होइन  विदेशी मुद्रा पनि फेला परेको छ।

‘बमजनको घरबाट बरामद नेपाली रूपैयाँ गनेर सकियो।  तीन करोड तीस लाख ७५ हजार रहेछ। सबै हजार हजारको गड्डीहरू भेटिएको छ।  अब बरामद भएको विदेशी पैसा गन्न बाँकी छ। डलर लगायत अरू पनि करेन्सी छन्,’ ब्युरो प्रमुख किरण ब्रजाचार्यले भनिन्।

उनको साथबाट १५ वटा मोबाइल, तीनवटा ल्यापटप र ३५ वटा पेनड्राइभ पनि बरामद भएको छ।

सिआइबी प्रमुख ब्रजाचार्यका अनुसार बमजनले अहिलेसम्म धेरै कुरा बोलेका छैनन्। आजसम्म कहाँ लुकेर बसेको भन्ने प्रश्नको जवाफमा विभिन्न जंगलहरूमा, कहिले आफन्तको घरमा बस्दै आएको मात्र उनले बताएका छन्।

प्रहरीले मंगलबार बुढानीलकण्ठको हात्तिगौँडास्थित बमजनकै घरबाट उनलाई पक्राउ गरेको थियो। प्रहरी पुगेपछि भाग्नलाई उनी बरण्डाबाट हाम फालेका थिए।

प्रहरीले केहीसमय अघिदेखि उनी काठमाडौंमा बस्दै आएको भन्ने सूचनाका आधारमा निगरानी बढाएको थियो।

सेतोपाटीले तीन महिना लामो अनुसन्धानपछि २०७५ साल पुस ११ गते बमजनका कर्तुतको फेहरिस्त तयार पारेर एकैसाथ चार स्टोरी प्रकाशित गरेको थियो।

ती स्टोरी प्रकाशित भएपछि बमजनका विभिन्न आश्रमबाट बेपत्ता पारिएका र हत्या गरिएका पाँचै जना आनी र अनुयायीका परिवारले प्रहरीमा जाहेरी दिएका थिए।

उनी विरूद्ध आश्रममा बस्दै आएका तीन आनी र २ चेला गरि ४ जनालाई बेपत्ता पारेको, एकजनाको हत्या गरेको, एकजनालाई बलात्कार गरेको जाहेरी प्रहरीमा परेका छन्।

बमजनका आश्रमबाट आनीहरू सर्लाहीकी रिता बोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा बेपत्ता पारिएका छन्। बमजनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबा पनि उनको सिन्धुलीस्थित आश्रमबाट बेपत्ता छन्। बमजनको आदेशमा वाइबालाई उनको सिन्धुपाल्चोकस्थित आश्रममा कुट्दा कुट्दै मारिएको प्रत्यक्षदर्शीले बताएका छन्। आलेमगरलाई रक्ताम्मे अवस्थामा आश्रममा देखेको पनि प्रत्यक्षदर्शीको भनाइ छ। 

आफूलाई हुँदै बमजनले बलात्कार गरेको भन्दै गंगामायाले दिएको उजुरी पछि प्रहरीले सर्लाही जिल्ला अदालतमा मुद्दा लगेको छ। उक्त मुद्दा मा उनलाई पक्राउ गर्न अदालतले पुर्जी जारी गरेको थियो।

यो पनिः 

बमजन आश्रममा यौन शोषण, हत्या-हिंसाको दुष्चक्र

पहिलो स्टोरी— बमजनको आश्रममा तीन आनी बेपत्ता, एक अनुयायीको हत्या

दोस्रो स्टोरी— बमजनको आश्रमबाट भागेका तीन आनीको कथा

तेस्रो स्टोरी: गंगामायाको कथा— आफू बमजनबाट बलात्कृत भइन्, साना आनीहरूलाई भने जोगाइन्

चौथो स्टोरी— बमजन कसरी बने मैत्रेय बुद्ध?

पाचौं स्टोरी –बमजनको आश्रमबाट पाँचौं व्यक्ति पनि बेपत्ता

शीर्ष समाचार

धेरै पढिएको