नेकपा वरिष्ठ नेता खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । मंगलबार बिहान राजदूत यान्छी नेता खनाल निवास डल्लु पुगेकी थिइन् ।
उनीहरुबीच नेकपाभित्र देखिएको विवादबारे छलफल भएको स्रोतले जानकारी दियो । पछिल्लो समय नेकपा फुटको संघारमा रहेको अवस्थामा नेता खनाल र राजदूतबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
दुई दिन अगाडि राजदूतले अर्का नेकपा नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेकी थिइन् ।
चिनियाँ राजदूतको राजनीतिक भेटवार्तालाई स्वयं नेकपाका नेताहरुले रुचाएका छैनन् । उनीहरुले नेकपाभित्रको आन्तरिक विवाद समाधान गर्न नेकपा नेताहरु स्वयं सक्षम हुनुपर्ने नेताहरुको बुझाई छ ।
यस्तै कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले भारतीय राजदूतको सरकार ढाल्ने खेल र चिनियाँ राजदूतले सरकार जोगाउन गरेको घरदैलौ कार्यक्रम बिदेशी हस्तक्षेप भएको स्वीकार गर्छन् ।
‘कुटनैतिक मर्यादा बिपरित सरकार बचाउन चिनियाँ राजदूतले गरेको घरदैलो कार्यक्रम र प्र.म. ओलीको भनाई बमोजिम भारतीय राजदूले सरकार ढलाउन गरेको षडयन्त्र दुबै बिदेशी हस्तक्षेप हो’, उनले भने, ‘बिदेशी हस्तक्षेपलाई आफू अनुकुल ब्याख्या गर्नेहरु जोसुकै भए पनि राष्ट्रघाती हुन् ।’
प्रतिकृया दिनुहोस्