डेडिकेटेड लाइन बक्यौता तिर्ने विषयमा उद्योगहरूबीच फुट
काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता तिर्ने विषयमा उद्योगहरूबीच मतभेद देखिएको छ। लक्ष्मी स्टिलले शुक्रबार पहिलो किस्ता बुझाएपछि बाँकी उद्योगहरू दबाबमा परेका छन्।
लक्ष्मी स्टिलले २३ करोड ७९ लाख रुपैयाँ बक्यौता मध्ये पहिलो किस्ताबापत ८४ लाख ९८ हजार रुपैयाँ बुझाएको छ। २८ किस्तामा बाँकी रकम तिर्ने सहमति अनुसार उद्योगले पहिलो किस्ता बुझाएको हो।
बक्यौता नतिर्ने रणनीतिमा रहेका अन्य ठूला उद्योगीहरू लक्ष्मी स्टिलको निर्णयपछि दबाबमा परेका छन्। सर्वोच्च अदालतले ऊर्जा मन्त्रालयको जाँचबुझ समितिलाई काम नगर्न दिएको अन्तरिम आदेशपछि नेपाल विद्युत् प्राधिकरणलाई बक्यौता उठाउने बाटो खुलेको थियो।
यसअघि राजनीतिक दबाबमार्फत बक्यौता मिनाह गराउने रणनीतिमा रहेका उद्योगीहरू अब तिर्ने मनस्थितिमा पुगेको स्रोतले जनाएको छ। हालसम्म ३३ उद्योगले अझै बक्यौता तिरेका छैनन्, जसमा सबैभन्दा बढी रकम जगदम्बा स्टिलको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार डेडिकेटेड तथा ट्रंक लाइनअन्र्तगत उद्योगहरूको कुल बक्यौता २२ अर्ब रुपैयाँ रहेको छ। बक्यौता उठाउने विषयमा प्राधिकरण र सरकारबीच द्वन्द्व जारी छ।

प्रतिकृया दिनुहोस्