October 28, 2026, Wednesday
KN hd tv

नेप्सेमा ३३ अंकको छलाङ : साढे ७ अर्बको कारोबारसहित बजार २,६६४ विन्दुमा, हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बुधबार दोहोरो अंकको उत्साहजनक वृद्धि दर्ता भएको छ। बजार परिसूचक ३३.२९ अंक अर्थात् १.२६ प्रतिशतले उकालो लागेर २,६६४.०६ को विन्दुमा पुगेर बन्द भएको हो।

परिसूचक वृद्धिसँगै कारोबार रकममा पनि ठुलो सुधार आएको छ। दिनभर कुल ३४८ कम्पनीका १ करोड ९३ लाख ९७ हजार कित्ता सेयर ६३ हजारभन्दा बढी कारोबारमार्फत ७ अर्ब ४५ करोड ८६ लाख रुपैयाँ बराबरमा किनबेच भएका छन्। यो अघिल्ला दिनहरूको तुलनामा निकै उत्साहप्रद कारोबार रकम हो।

बुधबारको बजारमा तीव्र खरिद चाप देखिँदा २४१ वटा सूचीकृत कम्पनीका लगानीकर्ताले नाफा आर्जन गरेका छन्। ३५ कम्पनीको सेयर मूल्यमा मात्र सामान्य गिरावट आएको छ भने ३ कम्पनीको मूल्य यथावत रहेको छ। वित्तीय प्रणालीमा अधिक तरलता कायम रहनु र सस्तो ब्याजदरका कारण लगानीकर्ताहरू पुँजी बजारतर्फ आकर्षित भएको बजारका जानकारहरू बताउँछन्।

समूहगत परिसूचक हेर्दा जलविद्युत् समूहमा लगानीकर्ताको सबैभन्दा बढी आकर्षण देखिएको छ। हाइड्रोपावर उपसूचक २.०६ प्रतिशतले उकालो लाग्दा बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जीवन बीमा र लगानी उपसमूहमा पनि १ प्रतिशतभन्दा माथिको वृद्धि भएको छ। व्यापार उपसमूह भने झिनो अंकले रातो रह्यो।

शीर्ष कारोबार गर्ने कम्पनीहरूमा जलविद्युत् क्षेत्रकै वर्चस्व रह्यो। लिबर्टी इनर्जी कम्पनी ३२ करोड ५० लाख रुपैयाँको सेयर किनबेच हुँदै कारोबार रकममा अग्रस्थानमा रह्यो। यस्तै घलेम्दी पावर, बुटवल पावर कम्पनी, अपि पावर र सोलु हाइड्रोपावर सर्वाधिक कारोबार हुने कम्पनीमा परे। नाफा कमाउनेमा बेनी हाइड्रोपावर र बुटवल पावर कम्पनीका लगानीकर्ताहरू अग्रस्थानमा रहेका छन्।

शीर्ष समाचार

धेरै पढिएको