October 28, 2026, Wednesday
KN hd tv

एसइई केन्द्राध्यक्ष नियुक्तिमा मुख्यमन्त्री सिंहको ध्यानाकर्षण

महोत्तरी । यही बिहीबार (७ चैत) देखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को केन्द्राध्यक्ष नियुक्तिबारे मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जिल्ला परीक्षा समन्वय समितिहरूलाई ध्यानाकर्षण गराएका छन्।

मुख्यमन्त्री सिंहले परीक्षा सुरु हुन तीन दिन बाँकी रहँदा केन्द्राध्यक्ष सम्बन्धित विद्यालयका प्रधानाध्यापक नभई गोला प्रथाद्वारा छनोट गर्न आग्रह गरेका छन्। यसअघि नै प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले जिल्ला परीक्षा समन्वय समितिलाई गोला प्रणाली अपनाउन पत्राचार गरिसकेको स्मरण गराउँदै उनले केही जिल्लाले पुरानै विधि अपनाएको भन्दै विज्ञप्ति जारी गरेर आपत्ति जनाएका छन्।

आइतबार साँझ मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णद्वारा जारी विज्ञप्तिमा परीक्षा निष्पक्ष बनाउन केन्द्राध्यक्ष नियुक्तिका लागि गोला प्रणालीको पालना अनिवार्य रहेको उल्लेख छ। यदि यो निर्णयको अवज्ञा भएमा मधेस सरकार परीक्षा सञ्चालन प्रक्रियाबाट अलग्गिनेसम्मको चेतावनी समेत दिइएको छ।

तर, जिल्ला परीक्षा समन्वय समितिहरूले पूर्ववत् अभ्यासअनुसार केन्द्राध्यक्ष तोक्ने प्रक्रिया अघि बढाएका छन्। महोत्तरीमा पनि विद्यालयकै प्रधानाध्यापकलाई केन्द्राध्यक्ष बनाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तथा समिति अध्यक्ष लालबाबु कवारीले बताए। फरक विधि अवलम्बन गर्न तयारीका लागि पर्याप्त समय नभएको समितिको भनाइ छ।

शिक्षाविद्हरूले परीक्षा मर्यादित र निष्पक्ष बनाउन सुधार आवश्यक भए पनि समन्वय जरुरी रहेको बताएका छन्। शिक्षण पेसाबाट अवकाश प्राप्त बर्दिबास–१ का केदारबहादुर कोइरालाका अनुसार परीक्षा प्रक्रियामा असमझदारी हटाई दुबै समितिबीच समन्वय कायम गर्न आवश्यक छ।

यसपालि महोत्तरीमा १० हजार ९४६ परीक्षार्थी सहभागी हुने एसइईका लागि ३२ परीक्षा केन्द्र कायम गरिएको छ। केन्द्राध्यक्ष नियुक्ति, जनशक्ति व्यवस्थापन लगायत सबै तयारी पूरा भइसकेको जिल्ला परीक्षा समन्वय समितिले जनाएको छ।

शीर्ष समाचार

धेरै पढिएको