निर्माण सम्पन्न अस्पताल सञ्चालनविहीन, करोडौँको भवन अलपत्र
म्याग्दीको उत्तरी क्षेत्र अन्नपूर्ण गाउँपालिका–१ स्थित दोवागाउँको भिरालो जमिनमाथि बनेको पालिकास्तरीय अस्पताल भवन बाहिरबाट आकर्षक देखिए पनि सञ्चालनमा आउन नसक्दा खण्डहरजस्तै बनेको छ। विसं २०७८ मा निर्माण सम्पन्न भएको पाँच शय्या क्षमताको उक्त अस्पतालमा अहिलेसम्म आवश्यक उपकरण र चिकित्सकसहितको जनशक्ति व्यवस्थापन हुन नसक्दा करोडौँ खर्चिएको भवन प्रयोगविहीन बनेको हो।
अस्पताल गाउँबाट टाढा अपायक स्थानमा रहेको छ, जहाँ पुग्न गाडीमा १५–२० मिनेट लाग्छ। राम्रो सडक र व्यवस्थित बस्तीसमेत नभएको स्थानमा सङ्घीय सरकारको प्रत्येक पालिकामा आधारभूत अस्पताल सञ्चालन गर्ने नीतिअनुसार स्थानीयवासीले जग्गा दान गरेर भवन निर्माण गरिएको थियो। तर सञ्चालन हुन नसक्दा स्थानीयवासीका लागि अस्पताल ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तै भएको छ।
अन्नपूर्ण गाउँपालिका–१ का वडाध्यक्ष दिलीपकुमार गर्बुजाका अनुसार बजेट अभाव र जनशक्ति व्यवस्थापन नहुँदा चार वर्षदेखि अस्पताल अलपत्र अवस्थामा छ। पाँच शय्याको उक्त अस्पताल भवनमा उपकरण र स्वास्थ्यकर्मी व्यवस्थापनका लागि तीनै तहका सरकारको ध्यान पुग्न नसकेको उनले बताए।
रविना–अमित जेभीले रु पाँच करोड १२ लाख ६० हजार ६५२ मा ठेक्का लिएर निर्माण गरेको अस्पतालका लागि स्थानीय सात जनाले १२ रोपनी सात आनाभन्दा बढी जग्गा निःशुल्क उपलब्ध गराएका थिए। अपाङ्गमैत्री संरचनामा बनेको अस्पतालमा आकस्मिक कक्ष, अन्तरङ्ग र बहिरङ्ग सेवा कक्ष, प्रयोगशाला, प्रशासनिक कक्ष, औषधि भण्डार, छुट्टाछुट्टै उपचार कक्ष तथा स्वास्थ्यकर्मीका लागि आवाससहित ३५ वटा कोठा रहेका छन्।
अस्पताल सञ्चालनमा नआउँदा सामान्य बिरामी पर्दासमेत उपचारका लागि बेनी पुग्नुपर्ने बाध्यता रहेको स्थानीय मनसरा गर्बुजाले गुनासो गरे। अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत पुनले भूकम्पप्रतिरोधी भवन तयार भए पनि प्रदेश र सङ्घीय सरकारले आवश्यक स्रोत र जनशक्ति व्यवस्थापन गर्न नसक्दा अस्पताल सञ्चालनमा आउन नसकेको बताए।

प्रतिकृया दिनुहोस्