किन भए आज विद्यालय बन्द ?
काठमाडौं । काठमाडौं उपत्यकासहित आज देशभरका धेरै स्थानमा विद्यालय बन्द रहेका छन् । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले आयोजना गरेको नेपाल बन्दका कारण विद्यालय बन्द भएका हुन् ।
अधिकांश विद्यालयले सोमबार साँझ नै विद्यार्थी तथा अभिभावकलाई मंगलबार विद्यालय बन्द रहने जानकारी गराएका थिए ।
नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले फागुन २१ हुने निर्वाचन स्थगित गर्न माग गर्दै नेपाल बन्द गरेको हो । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले सर्वपक्षीय राजनीतिक सम्मेलन गर्न आग्रह गरेको छ ।
स्वाधीन संयुक्त सरकार गठन गर्न, जनसंविधान निर्माण गरी अघि बढ्न, राष्ट्रिय स्वाधीनताको रक्षा गर्न, स्वास्थ्य, शिक्षा र यातायात निःशुल्क गर्नुपर्ने उसको माग छ ।
“भ्रष्ट्राचार, महंगी र कालोबजारीको अन्त्य गर्न, उद्योगधन्दा, कलकारखाना स्थापना गर्न र देशलाइ आत्मनिर्भर बनाई रोजगारीको सुनिश्चितता गर्न नेपाल बन्द आवश्यक छ,” नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले भनेको छ, “०४६ सालदेखि यताका राज्य संचालन गरेका नेता र उच्चपदस्थहरूको सम्पत्ति छानविन गर्न तथा सुकुम्वासी, भूमीहिन किसानहरूलाई जमिनको व्यवस्था गर्नुपर्छ ।”
बैंक, वित्तिय संस्था र मिटरव्याजीद्वारा हडपिएको सम्पत्ति फिर्ता गर्न, कृषिमा आधुनिकीकरण र औद्योगिकीकरण गरी राष्ट्रिय पुँजीको विकास गर्न, भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको मुल उद्देश्य पूरा गर्न नेपाल बन्द आह्वान गरिएको नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले प्रष्ट पारेको छ ।

प्रतिकृया दिनुहोस्