बाग्लुङमा ‘प्लेटलेट्स’ बनाउन थालियो : पोखरा र काठमाण्डौ पठाउनुपर्ने बाध्यता हट्यो
बाग्लुङ – रक्तसञ्चार केन्द्रमा सेतो रगत (प्लेटलेट्स/प्लाज्मा) बनाउन थालिएको छ । धवलागिरि प्रादेशिक अस्पतालअघि रहेको रक्त सञ्चार केन्द्रमा सेतो रगत निर्माण गर्ने उपकरणको अभावमा अन्य केही उपकरणसमेत प्रयोगविहीन भएका थिए भने बिरामीलाई पोखरा पठाउनुपर्ने बाध्यता थियो ।
लामो समयको प्रयास र ठूलो खर्च गरेर प्रयोगशाला स्थापना गरिएको छ । अस्ति आइतवारदेखि प्रयोगशालाबाट सेतो रगत उत्पादन गर्न थालिएको छ । नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्यले लामो समयको प्रयास र विभिन्न निकायको सहयोगमा झण्डै एक करोड रुपैयाँ खर्चेर सुविधासम्पन्न प्रयोगशाला स्थापना गरिएको बताउनुभयो ।
जटिल प्रकारका बिरामीलाई आवश्यक पर्ने प्लेटलेट्स/प्लाज्मा बाग्लुङमै बनाउन थालेपछि धवलागिरि प्रादेशिक अस्पतालबाट रेफर हुने जटिल प्रकारका बिरामीको सङ्ख्या घट्ने अपेक्षा छ । जटिल प्रकारका रोगको उपचारका लागि सेतो रगत आवश्यक पर्ने अस्पतालका प्रमुख डा. किरण तिवारीले बताउनुभयो ।
यसअघि जटिल अवस्थाका बिरामीलाई पोखरा, काठमाण्डौ पठाउनुपर्ने बाध्यता थियो । गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले बाग्लुङको रक्तसञ्चार केन्द्रलाई दुई वर्षअघि दिएको रातो र सेतो रगत छुट्याउने उपकरण (कम्पानेन्ट सेन्ट्रिफ्युज) प्रयोगमा आएपछि धेरैलाई सहज हुने केन्द्रका प्रमुख गुरुदत्त शर्माले बताउनुभयो ।
विशेषगरी डेङ्गीको सङ्क्रमण भई सेतो रगतको मात्रा घटेका, सर्पदंश, शल्यक्रिया, अत्यधिक रक्तश्राव भएका बिरामीलाई समेत सेतो रगत आवश्यक पर्ने धवलागिरि अस्पतालका प्रमुख डा. तिवारीले जानकारी दिनुभयो । बिरामीको अवस्था हेरेर ३० हजारभन्दा तल प्लेटलेट्स भएमा सेतो रगतको आवश्यकता हुने गर्छ ।

प्रतिकृया दिनुहोस्