कक्षा १२ को नतिजा सार्वजनिक : यस वर्ष करिब ९ प्रतिशतले नतिजा सुधार
काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा यस वर्ष अघिल्लो वर्षभन्दा करिब ९ प्रतिशतले सुधार देखिएको छ।
बोर्ड बैठकले हिजो साँझ सार्वजनिक गरेको नतिजाअनुसार यस वर्ष ६१.१७ प्रतिशत विद्यार्थीले परीक्षा उत्तीर्ण गरेका छन्। अघिल्लो वर्ष यो प्रतिशत ५२.९१ मात्र थियो।
यस वर्ष नियमिततर्फ तीन लाख ९६ हजार ३४७ विद्यार्थी परीक्षा दिएका थिए। तीमध्ये दुई लाख ४२ हजार ४६५ जनाले ग्रेड प्राप्त गरेका छन्। आंशिकतर्फ एक लाख १४ हजार ६४० जनाले परीक्षा दिँदा ४१ हजार ८४० विद्यार्थी उत्तीर्ण भएका छन्।
बोर्डका अनुसार नियमिततर्फ ११ र आंशिकतर्फ ६ गरी कुल १७ जनाको परीक्षा रद्द गरिएको छ।
सबै विषयमा ग्रेड प्राप्त गर्ने विद्यार्थीको कुल संख्या दुई लाख ८४ हजार ३०५ रहेको छ। तीमध्ये १३ हजार ५०२ जनाले ३.६१ देखि ४.०० जीपीए ल्याएका छन्।
यस्तै, ५५ हजार ८९६ जनाले ३.२१ देखि ३.६०, ९४ हजार २६८ जनाले २.८१ देखि ३.२०, ६९ हजार ८१२ जनाले २.४१ देखि २.८० र ८ हजार ९६४ जनाले २.०१ देखि २.४० जीपीए प्राप्त गरेका छन्।
‘ननग्रेड’ पाउने विद्यार्थीका लागि भदौ २८ र २९ गते पूरक परीक्षा (मौका परीक्षा) सञ्चालन गरिने बोर्डले जानकारी दिएको छ। दुई विषयमा ‘ननग्रेड’ पाउने वा बढीमा दुई विषयको परीक्षामा अनुपस्थित हुने विद्यार्थीहरूलाई मौका परीक्षा दिने व्यवस्था गरिएको छ।

लेखकको सम्वन्धमा