अमेरिकी मध्यावधि निर्वाचन : सिनेटको बहुमत कसको हातमा ? आज देशभर मतदान
वाशिङ्टन । अमेरिकी संसद्को माथिल्लो सदन (सिनेट) मा कुन दलले वर्चस्व कायम गर्नेछ भन्ने निर्णयका लागि आज मंगलबार अमेरिकाभर मतदान भइरहेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको शक्ति सन्तुलन निर्धारण गर्ने यस निर्वाचनलाई अत्यन्त प्रतिष्ठाको लडाइँ मानिएको छ ।
यस निर्वाचनमा ५ करोड ६० लाखभन्दा बढी अमेरिकी नागरिकहरूले यसअघि नै अग्रिम मतदान (अर्ली भोटिङ) मार्फत मत खसालिसकेका छन् । आज बाँकी मतदाताहरू देशभरका मतदान केन्द्रहरूमा उपस्थित भएर सिनेट तथा तल्लो सदनका प्रतिनिधिहरू चयनका लागि मतदान गरिरहेका छन् ।
नयाँ सर्वेक्षणहरूले डेमोक्र्याटिक पार्टी सिनेटमा बहुमतको नजिक पुगेको देखाइरहेका छन् । यसैबीच राष्ट्रपति ट्रम्पले यदि विपक्षी डेमोक्र्याटहरूले कंग्रेसमा पकड जमाएमा उनीहरूका नीति तथा विधेयकहरूमा आफूले राष्ट्रपतीय विशेषाधिकार ‘भिटो’ प्रयोग गरी रोकिदिने चेतावनी दिएका छन् ।
निर्वाचनको सबैभन्दा ठूलो रणभूमि बनेको मिशिगन राज्यमा रिपब्लिकन उम्मेदवार माइक रोजर्स र डेमोक्र्याट उम्मेदवार अब्दुल एल-सईदबीच निकै कडा टक्कर चलिरहेको छ । मतदानको मुखैमा डेमोक्र्याटिक सांसद हेली स्टिभेन्सले रिपब्लिकन उम्मेदवारलाई समर्थन गरेपछि चुनावी माहोल थप रोचक बनेको छ ।
यसैबीच अमेरिकी सर्वोच्च अदालतले ट्रम्प प्रशासनको न्याय मन्त्रालयद्वारा दर्ता गरिएको आपत्कालीन निवेदन खारेज गरिदिएको छ । गैरनागरिकको आशंका भन्दै क्यालिफोर्नियाका हजारौँ मतपत्र अलग राख्न गरिएको माग अदालतले अस्वीकार गरेपछि सबै मतपत्र गणना हुने निश्चित भएको छ । साउथ क्यारोलिना, क्यान्सस, इन्डियाना र अलास्कामा समेत सिनेट नियन्त्रणका लागि तीव्र प्रतिस्पर्धा भइरहेको छ ।

प्रतिकृया दिनुहोस्