कोरला नाका हुँदै ३ हजार ७२५ मेट्रिकटन चिनियाँ फलफूल भित्रियो, ११ किसिमका फलफूल आयात
मुस्ताङ । नेपाल र चीनबीचको उत्तरी कोरला नाकाबाट दुई महिनाको अवधिमा तीन हजार ७२५ मेट्रिकटन फलफूल चीनतर्फबाट आयात भएको छ। प्रमुख व्यापारिक नाकाहरू रसुवागढी र तातोपानी बन्द भएपछि गत भदौ २० गतेदेखि कोरला नाका हुँदै चिनियाँ फलफूलजन्य सामग्री नेपाल आयात हुन थालेको हो।
लोमान्थाङ-४ न्हेचुङस्थित क्वारेन्टाइन कार्यालयका अनुसार उक्त नाकाबाट हालसम्म ११ थरीका फलफूल नेपाल भित्रिएका छन्। भोटेकोशीको बाढीका कारण रसुवा-केरुङ नाका भदौ १० देखि ठप्प छ भने तातोपानी नाका समेत लामो समयदेखि अवरुद्ध रहेकाले फलफूल आयात कोरलातर्फ डाइभर्ट भएको हो।
क्वारेन्टाइन कार्यालयकी प्राविधिक सहायक बन्दना घर्तीमगरले दसैँ, तिहार र छठजस्ता मुख्य चाडपर्वलाई लक्षित गरी फलफूल आयात तीव्र भएको बताइन्। चीनबाट स्याउ, ड्रागन फ्रुट, नासपाती, आँप, अङ्गुर, किसमिसका साथै फर्सीको बीउ, लसुन र फापर भित्रिएको छ। आयात गरिएका फलफूलमध्ये सबैभन्दा ठूलो हिस्सा स्याउ र ओखरको रहेको छ।
यसअघि असोज ११ गतेको बाढीपहिरोले बेनी-जोमसोम सडक दुई साता बढी बन्द हुँदा आयातित फलफूल समयमै ढुवानी गर्न केही समस्या भएको थियो। हाल सडक सञ्चालनमा आएसँगै कोरला नाकाबाट नियमित रूपमा फलफूल तथा अन्य सामग्री भित्रिरहेको भन्सार तथा क्वारेन्टाइन कार्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्