कार्तिक ११ गतेको मौसम : पाँच प्रदेशमा बादल लाग्ने, ‘अर्नब’ चक्रवातका कारण बिहीबारदेखि भारी वर्षाको चेतावनी
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका साथै आगामी कार्तिक १२ गते (बिहीबार) देखि बङ्गालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’ (Cyclone ‘Arnab’) को समेत प्रभाव नेपालमा पर्न थाल्ने भएकाले देशभर मौसममा ठूलो फेरबदल आउने महाशाखाले जनाएको छ ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार बुधबार (कार्तिक ११ गते) दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । देशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
बुधबार रातिको समयमा देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान छ । राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशको हिमाली क्षेत्रका एक-दुई स्थानमा मध्यम स्तरको वर्षा तथा हिमपातको सम्भावना रहेको छ । साथै कोशी र बागमती प्रदेशका पहाडी भू-भाग, मधेश प्रदेश तथा कोशीको तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षा हुनेछ ।
महाशाखाले बिहीबार (कार्तिक १२ गते) देखि शनिबार (कार्तिक १४ गते) सम्मका लागि विशेष मौसमी चेतावनी जारी गरेको छ । चक्रवात ‘अर्नब’ को प्रभावका कारण कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थान तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारीदेखि धेरै भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको छ ।
आसन्न भारी वर्षा र प्रतिकूल मौसमलाई मध्यनजर गर्दै किसानहरूलाई पाकेको धानबाली बिहीबार अगावै सुरक्षित रूपमा भित्र्याउन महाशाखाले विशेष अनुरोध गरेको छ । यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हिमआँधी तथा हिमपहिरोको उच्च जोखिम रहेकाले पदयात्रा तथा पर्वतारोहणमा रहेका पर्यटकहरूलाई सुरक्षित स्थानमा रहन र नयाँ यात्रा नगर्न मौसमविद्हरूले सचेत गराएका छन् ।

प्रतिकृया दिनुहोस्