October 28, 2026, Wednesday
KN hd tv

खुला आकाशमुनिको ‘ट्युसन’ कक्षा !

काठमाडौँ – इटहरीको टेङ्ग्रा खोलाकिनारस्थित पिपलको रुखमुनि सञ्चालन हुँदै आएको ‘श्री पिपलबोटे खुला विद्यालय’ विगत तीन दशकदेखि विपन्न बालबालिकाका लागि आशाको केन्द्र बनेको छ। यहाँ नर्सरीदेखि कक्षा ७ सम्मका करिब ३०–३५ जना बालबालिका दैनिक बिहान ७ बजे पढ्न आउँछन्, जहाँ चन्द्र भण्डारी (चन्द्र सर) ले निःशुल्क रूपमा पठनपाठन गराउँदै आएका छन्।

यो कुनै औपचारिक रूपमा दर्ता गरिएको विद्यालय होइन, तर भण्डारीको व्यक्तिगत पहल, समर्पण र सेवाभावले निरन्तरता पाएको शैक्षिक अभियान हो। उनले गरिब तथा सीमान्तकृत समुदायका बालबालिकालाई विद्यालयको पढाइ बुझ्न सहयोग गर्दै आएका छन्।

धनकुटामा जन्मिएका भण्डारी २०४४ सालमा जीविकोपार्जनको खोजीमा इटहरी आएका थिए। विभिन्न पेशा–व्यवसाय गर्दै आएका उनले बाँसको व्यापारका क्रममा खोलाकिनारमा खेलिरहेका विद्यालय उमेरका बालबालिकालाई देखेपछि निःशुल्क पढाउने निर्णय गरेका थिए। सुरुवातमा १० जना बालबालिकाबाट सुरु भएको यो अभियान अहिले दर्जनौँ बालबालिकाको सिकाइको आधार बनेको छ।

पहिले टहरोमा सञ्चालन हुँदै आएको कक्षा २०६० सालमा टहरा भत्किएपछि खुला आकाशमुनि नै सञ्चालन हुँदै आएको छ। बाढी, वर्षा वा खडेरी जस्तोसुकै परिस्थिति आए पनि भण्डारीले पढाइ रोक्न दिएका छैनन्। कोभिड–१९ महामारीका बेला समेत उनले अनलाइन कक्षा सञ्चालन गरेका थिए।

यहाँ अध्ययन गर्ने अधिकांश बालबालिका श्रमिक परिवारका छन्, जसका अभिभावक मकै बेच्ने, जुत्ता पालिस गर्ने वा रिक्सा चलाउने जस्ता पेशामा संलग्न छन्। भण्डारीले पढाइसँगै कापी, कलम र लत्ताकपडासमेत सहयोग गर्दै आएका छन्।

उनको सेवाभावको कदर गर्दै विभिन्न संघसंस्थाले सम्मान गरिसकेका छन्। ‘युएसए–नेपाल ह्युमानिटेरियन सर्भिस अवार्ड २०१७’ लगायतका प्रतिष्ठित पुरस्कारबाट समेत उनी सम्मानित भएका छन्।

भण्डारीका अनुसार, सम्मानहरूले जिम्मेवारी अझ बढाएको छ र स्वास्थ्यले साथ दिएसम्म बालबालिकालाई निःशुल्क शिक्षा दिने कार्य जारी राख्ने उनको अठोट छ।

उनकी श्रीमती सावित्री भण्डारी पनि शिक्षण पेशामा संलग्न छिन् भने उनका दुई छोरा उच्च शिक्षामा अध्ययनरत छन्।

तीन दशकभन्दा बढी समयदेखि निरन्तर जारी यो अभियानले धेरै विद्यार्थीलाई शिक्षित मात्र होइन, सक्षम नागरिक बनाउन मद्दत पुर्‍याएको छ।

शीर्ष समाचार

धेरै पढिएको