काठमाडौँ । नेपाली कांग्रेस संस्थापन (देउवा पक्ष) को पोखरामा जारी गण्डकी प्रदेश प्रथम अधिवेशनको बन्दसत्र तीन दिनसम्म चल्दा पनि कार्यसमितिका पदाधिकारीहरूको अन्तिम टुङ्गो लाग्न सकेको छैन। शनिबार पूर्वसभापति शेरबहादुर देउवाले उद्घाटन गरेको यस अधिवेशनमा सभापति र खुला सदस्यहरू निर्विरोध घोषणा भए पनि उपसभापति, महामन्त्री तथा सहमहामन्त्री पदमा तीव्र रस्साकस्सी देखिएको छ।
प्रदेश सभापतिमा मेखलाल श्रेष्ठ सर्वसम्मत रूपमा निर्वाचित भइसकेका छन् भने सदस्य पदहरूमा पनि ६४ जनाको नाम सहमतिमै सार्वजनिक गरिएको छ। तर, विधान बमोजिम आवश्यक पर्ने बाँकी पदाधिकारीहरूमा आकांक्षीहरूको संख्या निकै ठूलो भएपछि निर्वाचन समिति र शीर्ष नेतृत्व सहमतिको सूत्र पहिल्याउन निरन्तर प्रयासरत छन्।
प्रदेश कार्यसमितिका दुई उपसभापति पदका लागि ११ जनाले उम्मेदवारी दिएका छन् भने दुई महामन्त्रीमा ३ जना र तीन सहमहामन्त्रीका लागि १२ जनाको दाबेदारी कायम छ। अधिवेशनको पहिलो दिन प्रक्रिया पूरा नगरी घोषणा गरिएको भन्दै केन्द्रीय नेताहरूले विरोध गरेपछि पुनः उम्मेदवारी दर्ता खुला गरिएको थियो। धेरै जिल्लाबाट प्रभावशाली नेताहरूले दाबी नछाड्दा सहमतिको प्रयास पटक-पटक विफल भएको हो।
निर्वाचन समितिका अनुसार विवाद समाधान गर्न र सकेसम्म मतदान छलेर सर्वसम्मत नेतृत्व चयन गर्न आन्तरिक परामर्श तीव्र पारिएको छ। आज दिनभर आकांक्षीहरूसँग छलफल गरेर सहमतिको साझा सूची तयार पार्ने र प्रदेशको पूर्ण कार्यसमिति घोषणा गर्ने प्रयास भइरहेको नेताहरूले जनाएका छन्।


