काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) मा आबद्ध आठवटै फ्रेन्चाइज टिमका लागि आफ्नै फ्लडलाइटयुक्त आधुनिक क्रिकेट रंगशाला निर्माण गरिने घोषणा गरेका छन् । एनपीएलको तेस्रो संस्करणको फाइनल खेल सम्पन्न भएलगत्तै उनले खेल पूर्वाधारमा नयाँ युगको सुरुआत गर्ने उद्घोष गरेका हुन् ।
प्रधानमन्त्री शाहका अनुसार प्रतियोगिताको छैटौँ संस्करणसम्ममा एनपीएललाई ‘होम एन्ड अवे’ आधारमा आयोजना गर्ने गरी पूर्वाधार तयार गरिनेछ । रंगशाला निर्माणको सम्पूर्ण जिम्मा नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयले लिनेछ । सुदूरपश्चिमको फाप्ला रंगशाला निर्माणको काम सुरु भइसकेको र बाँकी सातवटै मैदानको निर्माण प्रक्रिया आगामी तीन महिनाभित्र सुरु गरिने उनले बताएका छन् ।
योजनाअनुसार विराटनगर किंग्सका लागि बैजनाथपुर, लुम्बिनी लायन्सका लागि भैरहवाको सिद्धार्थ रंगशाला, कर्णाली याक्सका लागि सुर्खेत रंगशाला र सुदूरपश्चिमका लागि फाप्ला रंगशाला तय गरिएको छ । त्यस्तै काठमाडौं गुर्खाजका लागि त्रिवि मैदान, पोखरा एभेन्जर्सका लागि पोखरा रंगशाला, जनकपुर बोल्ट्सका लागि रामजानकी रंगशाला र चितवन राइनोजका लागि भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण तथा स्तरोन्नति गरिनेछ ।
क्रिकेटको व्यावसायिक विस्तारका लागि भौतिक पूर्वाधार पहिलो सर्त भएको बताउँदै प्रधानमन्त्रीले खेलकुदको विकासमा सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।


