काठमाडौँ । कतारको दोहामा जारी पुरुष एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा भारत ‘ए’ ले नेपालसामु जितका लागि ३३३ रनको विशाल लक्ष्य खडा गरेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारत ‘ए’ ले निर्धारित ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा ३३२ रनको मजबुत स्कोर बनाएको हो।
नेपाली बलरहरूले सुरुवातमै आक्रामक दबाब सिर्जना गर्दै ४२ रनभित्र भारतका शीर्ष ३ ब्याटरलाई आउट गरेका थिए। तर चौथो विकेटका लागि भारतीय कप्तान तिलक वर्मा र कुमार कुशाग्रबिच भएको २०६ रनको म्याराथन साझेदारी खेलको टर्निङ प्वाइन्ट बन्यो। कुशाग्रले १०२ बलमा १० चौका र ५ छक्काको मद्दतले ११७ रन तथा कप्तान वर्माले ११३ बलमा १०७ रन बनाए।
पछिल्लो क्रममा सुर्यांश सेड्गेले १४ बलमै ३६ रनको विष्फोटक इनिङ्स खेले। बलिङतर्फ नेपालका प्रमुख स्पिनरद्वय सन्दीप लामिछाने र ललित राजवंशीले उत्कृष्ट पुनरागमन गर्दै समान ३–३ विकेट चटकाए भने मध्यम गतिका बलर नन्दन यादवले २ र पवन सर्राफले १ विकेट लिए।
नेपालका लागि यस खेलमा दीपक डुम्रे, लोकेश बम र रशिद खानले पहिलो पटक लिस्ट ‘ए’ क्रिकेटमा डेब्यु गर्ने अवसर पाएका छन्। विशाल लक्ष्य पछ्याउन सुरु गरेको नेपाली टोलीले ऐतिहासिक नतिजा निकाल्न ठोस साझेदारी र संयमित ब्याटिङ प्रस्तुत गर्नुपर्नेछ।

