काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले नेपाली मौलिक चाडपर्वहरूले मानव र प्राणी जगत्बीचको आत्मीय सम्बन्ध एवं सहअस्तित्वलाई प्रगाढ बनाएको बताएका छन्। तिहार, यमपञ्चक, काग तिहार तथा आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरी जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले हाम्रा चाडपर्वहरूले सुशासन र जनपक्षीय काम गर्ने ऊर्जा दिनुपर्ने बताएका हुन्।
शुभकामना सन्देशमार्फत प्रधानमन्त्री शाहले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको मंगलमय शुभकामना व्यक्त गरेका छन्।
काग तिहार : प्रकृति र पशुपन्छीप्रतिको आदर
यमपञ्चकको सुरुवातसँगै मनाइने काग तिहारको चर्चा गर्दै प्रधानमन्त्रीले यमराजको दूतका रूपमा कागलाई सम्मान गर्ने हाम्रो सांस्कृतिक विशिष्टता रहेको उल्लेख गरे। आधुनिक सञ्चार प्रविधि नहुँदाका बखत आँगनमा काग कराउँदा शुभ सन्देश र पाहुनाको प्रतीक्षा गर्ने पुर्खाको विश्वास आज पनि नेपाली समाजमा जीवन्त रहेको उनले स्मरण गरे।
‘घरको आँगनमा काग आउँदा “शुभ बोल” भन्दै दही–भात अर्पण गर्ने र यमराजसमक्ष शुभ सन्देश पुगोस् भन्ने कामना गर्ने परम्परा आफैँमा पर्यावरण र जीवप्रतिको आदरभाव हो,’ प्रधानमन्त्री शाहले सन्देशमा उल्लेख गरेका छन्।
न्यायका प्रतीक यमराज र आरोग्यका धन्वन्तरी
यमयातनाबाट मुक्तिका लागि गरिने दीपदानको चर्चा गर्दै प्रधानमन्त्री शाहले हाम्रो संस्कृतिले यमराजलाई त्रासको रूपमा मात्र नभई निष्पक्ष न्याय र धर्मको प्रतीकका रूपमा व्याख्या गरेको प्रष्ट पारे। उनले सत्कर्म गर्नेलाई धर्मराजले रक्षा गर्ने र दुष्कर्म गर्नेलाई दण्ड दिने विश्वासले समाजलाई अनुशासन र नैतिक मार्गमा डोर्याउने बताए।
साथै, धन्वन्तरी जयन्तीका अवसरमा आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको स्मरण गर्दै उनले सबै नेपालीको निरोगी जीवनको कामना गरेका छन्।
सहअस्तित्व, इमानदारी र जनपक्षीय सुशासनको प्रेरणा
मानव सभ्यताको सबैभन्दा बफादार र रक्षक साथीका रूपमा कुकुरको पूजा गरिने परम्पराको स्मरण गर्दै प्रधानमन्त्रीले सुरक्षा, अनुसन्धान र उद्धारमा कुकुरको भूमिका प्रशंसनीय रहेको बताए। यस्ता पर्वहरूले समस्त प्राणीप्रति दया, प्रेम र सहअस्तित्वको भावना विकास गराउने उनको भनाइ छ।
‘सत्य, न्याय र इमानदारीको बाटोमा दृढतापूर्वक उभिएर समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा यी चाडपर्वहरूले हामी सबैलाई प्रदान गरून्,’ प्रधानमन्त्री शाहले भनेका छन्।
