मन्त्रिपरिषद् बैठकका ६ निर्णय : सडक सुधारका लागि एडीबीको सहुलियतपूर्ण ऋण स्वीकार, मोही जग्गा बाँडफाँटको म्याद थपियो
काठमाडौँ । सरकारले देशको सडक पूर्वाधार सुधारका लागि एसियाली विकास बैंक (एडीबी) बाट प्राप्त हुने २८५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
मंगलबार सिंहदरबारस्थित मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा बसेको बैठकले अर्थ, कृषि, परराष्ट्र, भूमिसुधार तथा सञ्चार क्षेत्रसँग सम्बन्धित ६ वटा नीतिगत निर्णयहरू गरेको हो।
बैठकले गरेका ६ निर्णयहरूको पूर्ण विवरण:
- एडीबीको ऋण तथा अनुदान स्वीकार : एसियाली विकास बैंक (ADB) बाट सडक सुधारका लागि प्राप्त हुने २८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने।
- नेपाल पुनर्बीमा कम्पनीमा सरकारी लगानी : नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा नेपाल सरकारको थप हकप्रद सेयर लगानी गर्न आवश्यक सहमति प्रदान गर्ने।
- मल नियन्त्रण आदेश, २०८३ स्वीकृत : नानो फर्टिलाइजर, बायोस्टिमुलेन्ट र व्यावसायिक रूपमा उत्पादन तथा बिक्री वितरण हुने जैविक तथा प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्ने र ‘मल नियन्त्रण आदेश, २०८३’ स्वीकृत गर्ने।
- कोप-३१ मा नेपाली प्रतिनिधिमण्डल : तुर्किएमा आगामी कात्तिक २३ देखि मङ्सिर ४ गतेसम्म आयोजना हुने संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (COP-31) मा सहभागी हुन उच्चस्तरीय प्रतिनिधिमण्डललाई स्वीकृति दिने।
- मोही जग्गा बाँडफाँटको अवधि विस्तार : मोही लागेको जग्गाको जग्गाधनी र मोहीले जग्गा बाँडफाँट गर्न निवेदन दिनुपर्ने अवधि २०८५ कात्तिक मसान्त र बाँडफाँट प्रक्रिया टुंग्याउने अवधि २०८६ असार मसान्तसम्म थप गर्ने गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्ने।
- दुई अध्यादेश सिफारिस : प्रेस काउन्सिल ऐन, २०४८ संशोधन गर्न बनेको अध्यादेश तथा संस्कृति, पर्यटन र नागरिक उड्डयन लगायतका केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने।

प्रतिकृया दिनुहोस्