एनपीएल : आन्द्रे रसेलको अलराउन्ड प्रदर्शनमा विराटनगर किङ्स २ रनले विजयी, जनकपुर पराजित
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार भएको अन्तिम ओभरको सास रोक्ने भिडन्तमा विराटनगर किङ्सले जनकपुर बोल्ट्समाथि २ रनको नाटकीय जित हात पारेको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर बोल्ट्सले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन मात्र जोड्न सक्यो। जनकपुरका लागि सैफ हसनले ४८ बल खेल्दै ५ छक्का र २ चौका प्रहार गरी अविजित ७१ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। अर्का ब्याटर विशाल शुस्लिङले ३० बलमा ४३ रनको योगदान दिए।
विराटनगरका स्टार अलराउन्डर आन्द्रे रसेलले उत्कृष्ट बलिङ गर्दै सर्वाधिक ४ विकेट झारे। त्यस्तै अनुभवी एन्जोलो म्याथ्युसले २ र रुपेश सिंहले १ विकेट हात पारे।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको विराटनगर किङ्सले उत्कृष्ट ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेटको नोक्सानीमा १७४ रनको मजबुत स्कोर बनाएको थियो। विराटनगरका लागि इमरान शेखले ४० बलमा ५६ रन, लोकेश बमले ४० बलमा ५० रन तथा आन्द्रे रसेलले २९ बलमा आक्रामक अविजित ५२ रन प्रहार गरे।
बलिङतर्फ जनकपुरका अभिषेक तिवारीले २ तथा मोइन अलीले १ विकेट लिए। ब्याटिङमा अविजित ५२ रन र बलिङमा ४ विकेट लिएका रसेलको अलराउन्ड चामत्कारिक प्रदर्शन खेलको प्रमुख आकर्षण बन्यो।

प्रतिकृया दिनुहोस्