एनपीएलमा सुदूरपश्चिम रोयल्सको उत्कृष्ट प्रदर्शन : चितवन राइनोज ५ विकेटले पराजित
काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजमाथि ५ विकेटको शानदार जित निकालेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले प्रस्तुत गरेको १३० रनको विजयी लक्ष्य सुदूरपश्चिमले २० बल बाँकी छँदै १६.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
सुदूरपश्चिमको जितमा शीर्ष क्रमका ब्याटर ब्रान्डन म्याकमलेनले आक्रामक ब्याटिङ गरे। उनले २१ बलमा ६ चौका र २ छक्काको मद्दतले ४३ रनको महत्वपूर्ण इनिङ्स खेले। त्यसैगरी इशान पाण्डेले २९ बल खेल्दै २५ रन बनाए। चितवनका बलर रन्जित कुमारले ३ विकेट झारे भने रिजन ढकालले १ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १२९ रन बनाएको थियो। चितवनका लागि रवि बोपाराले ४० बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४९ रनको इनिङ्स खेले। यस्तै डेविड मलानले १६, अर्जुन साउदले १५ र कप्तान सिकन्दर राजाले १५ रनको योगदान दिए।
सुदूरपश्चिमका लागि बलिङतर्फ स्कट कुगेलिइनले २ विकेट लिए भने हेमन्त धामी, कप्तान दीपेन्द्रसिंह ऐरी र अनिल खरेलले १–१ विकेट लिए।
यो जितसँगै ४ खेलमा २ जितसहित ४ अंक बटुलेको सुदूरपश्चिम रोयल्स अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ। पराजित चितवन राइनोज भने पाँचौँ स्थानमा सीमित भएको छ।

प्रतिकृया दिनुहोस्