संघीय संसद् बैठक तुरुन्त बोलाउन विपक्षी दलहरूको माग, सिंहदरबारमा बस्यो संयुक्त बैठक
काठमाडौँ । संघीय संसद्को बैठक तत्काल आह्वान गर्न विपक्षी दलहरूले सरकारसँग माग गरेका छन् । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा सोमबार बसेको विपक्षी दलहरूको संयुक्त बैठकले संसद् बैठक अविलम्ब बोलाउन सरकारसँग माग गर्ने औपचारिक निर्णय गरेको हो ।
जनताका जल्दाबल्दा समस्या, राष्ट्रिय अर्थतन्त्रका चुनौती र समसामयिक राजनीतिक मुद्दाहरूमाथि जनप्रतिनिधिहरूको सर्वोच्च थलो संसद्मा बहस हुनुपर्नेमा विपक्षी दलहरूको एकमत रहेको छ । बैठकपछि नेपाली कम्युनिस्ट पार्टीका नेता प्रमेश हमालले संसद् अधिवेशन तुरुन्त आह्वान गर्न विपक्षी दलहरूको तर्फबाट सरकारसमक्ष सशक्त माग गरिएको बताउनुभयो ।
सोमबारको संयुक्त बैठकमा नेपाली कांग्रेसका तर्फबाट संसदीय दलका नेता भीष्मराज आङ्दाम्बे, राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्त तथा प्रमुख सचेतक बासना थापा सहभागी हुनुहुन्थ्यो ।
त्यस्तै बैठकमा नेकपा एमालेका तर्फबाट संसदीय दलकी उपनेता पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टीबाट प्रमेश हमाल, वर्षमान पुन र युवराज दुलाल सहभागी हुनुहुन्थ्यो । यस्तै जनता समाजवादी पार्टीका शीर्ष नेता महन्थ ठाकुर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की खुश्बु ओली लगायत विपक्षी मोर्चाका नेताहरूको उपस्थिति रहेको थियो ।
संसद् अधिवेशन सुरु नहुँदा देशका महत्वपूर्ण विधेयकहरू अलपत्र परेको र नागरिकका सरोकारहरू ओझेलमा परेको भन्दै विपक्षी दलहरूले आगामी दिनमा संसद् र सडक दुवै मोर्चाबाट दबाब बढाउने रणनीति समेत बनाएका छन् ।

प्रतिकृया दिनुहोस्