मौसममा व्यापक फेरबदल: यी प्रदेशमा मेघगर्जनसहित भारी वर्षा र हिमपातको चेतावनी, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेष तथा पश्चिमी वायुको संयुक्त प्रभावका कारण देशका अधिकांश भू-भागमा मौसमी प्रणाली प्रभावित बनेको छ। हालको यो सक्रिय प्रणालीले देशभर बदली गराउनुका साथै धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना निम्त्याएको छ। हालांकि, आगामी अपराह्नदेखि भने यो मौसमी प्रभाव क्रमिक रूपमा कम हुँदै जाने प्रक्षेपण गरिएको छ।
यस प्रणालीको प्रभावले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा दिउँसो र रातिको समयमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी कोशी, मधेश र बागमती प्रदेशका केही भू-भागमा भारी वर्षा तथा हिमाली क्षेत्रमा मध्यम हिमपातको आँकलन गरिएको छ। सुदूरपश्चिम र कर्णालीका हिमाली तथा पहाडी भेगमा पनि आंशिकदेखि साधारणतया बदली रही चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्नेछ।
धानबाली भित्र्याउने बेला भएकोले कृषि कार्य प्रभावित हुन सक्ने भन्दै मौसमको अवस्था बुझेर मात्र काम गर्न किसानहरूलाई विशेष सुझाइएको छ। उच्च हिमाली तथा पहाडी क्षेत्रमा हिमआँधी, हिमपहिरो र पहिरोको उच्च जोखिम रहेकाले पर्यटकहरूलाई उक्त क्षेत्रमा नजान र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ। यसैगरी, चिसो बढ्ने क्रमसँगै सडक तथा हवाई यातायात र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने हुनाले सबैलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।
आगामी केही दिनमा मौसम क्रमिक रूपमा खुल्दै गए पनि आइतबार र सोमबारसम्म देशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको क्रम जारी रहनेछ। विशेष गरी तराईका केही भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख हुस्सु र कुहिरो लाग्न सक्ने भएकाले तदनुरुप सावधानी अपनाउन सर्वसाधारण र सरोकारवाला निकायहरूमा आह्वान गरिएको छ।

प्रतिकृया दिनुहोस्