१५ औँ महाधिवेशनको नयाँ कार्यसमिति अद्यावधिक गर्न कांग्रेस निर्वाचन आयोग जाँदै
काठमाडौँ । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनबाट निर्वाचित २० पदाधिकारीसहित २३१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगमा अद्यावधिक गर्ने प्रक्रिया सुरु गरेको छ। महाधिवेशनबाट आएको नयाँ नेतृत्वलाई कानुनी मान्यता र अभिलेखीकरणका लागि आयोगमा दल दर्ता किताबमा अद्यावधिक गर्न लागिएको हो।
सानेपास्थित केन्द्रीय कार्यालयमा बिहीबार बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकको म्यान्डेट अनुसार आवश्यक कागजात, माइन्युट र केन्द्रीय सदस्यहरूको नामावली तयार गरी निर्वाचन आयोगमा पेश गर्ने तयारी गरिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
महाधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूले बिहीबार पदभार ग्रहण गरिसकेका छन्। निर्वाचन आयोगमा अभिलेख अद्यावधिक भएपछि नयाँ कार्यसमितिले आगामी निर्वाचन, पार्टी सञ्चालन तथा प्रशासनिक कामकाजका लागि पूर्ण आधिकारिकता प्राप्त गर्नेछ।
राजनीतिक दलसम्बन्धी प्रचलित कानुन अनुसार महाधिवेशनपछि नयाँ कार्यसमितिको विवरण निर्वाचन आयोगमा अद्यावधिक गराउनुपर्ने प्रावधान रहेको छ। सोही बमोजिम कांग्रेसले छिट्टै निर्वाचन आयोगमा निवेदन र निर्णयको प्रतिलिपि बुझाउनेछ।

प्रतिकृया दिनुहोस्