तार भूमिगत गर्न काठमाडौँका यी क्षेत्रमा ८ दिन बिजुली बन्द हुने : हेर्नुहोस् कुन दिन कहाँ रोकिन्छ?
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका सडकमा विद्युत् तार भूमिगत गर्ने कार्यलाई तीव्रता दिएसँगै उपत्यकाका विभिन्न स्थानमा ८ दिनसम्म बिजुली कटौती हुने भएको छ। कुलेश्वर तथा नयाँ बानेश्वर वितरण केन्द्रअन्तर्गत विभिन्न फिडरहरूमा काम गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुन लागेको हो।
प्राधिकरणका अनुसार कात्तिक १३ गतेदेखि २० गतेसम्म तोकिएका स्थानहरूमा बिहान १०ः३० बजेदेखि दिउँसो ४ः०० बजेसम्म नियमित विद्युत् आपूर्ति बन्द रहनेछ। तार भूमिगत गर्दा हुने प्राविधिक तथा सुरक्षा जोखिम न्यूनीकरणका लागि यो कदम चालिएको प्राधिकरणले उल्लेख गरेको छ।
कुन दिन कुन क्षेत्र प्रभावित हुन्छ?
- कात्तिक १३ (पहिलो दिन): बलम्बु, थानकोट तथा मातातीर्थ फिडरअन्तर्गत हाइभिजन कोलोनी आसपास।
- कात्तिक १४ गते: सीतापाइला फिडर अन्तर्गत कलङ्की चक्रपथ खण्डदेखि स्युचाटार सबस्टेसनसम्म।
- कात्तिक १५ गते: कलङ्की, थानकोट र रोपवे फिडर अन्तर्गत कलङ्की चोकदेखि ढुङ्गेअड्डा क्षेत्रसम्म।
- कात्तिक १६ गते: बाफल फिडरअन्तर्गत कलङ्की रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म।
- कात्तिक १७ गते: शङ्खमूल फिडरअन्तर्गत युएनपार्क, शङ्खमूल र बिजुलीबजारसम्मको क्षेत्र।
- कात्तिक १८ र २० गते: सतुङ्गल फिडरअन्तर्गत धौलागिरि आवास क्षेत्र र मातातीर्थ पीएसएस आसपास।
- कात्तिक १९ गते: स्युचाटार एसएस फिडर अन्तर्गत हाजमा पुल वरिपरिको क्षेत्र।
विद्युत् प्राधिकरणले तोकिएको समयभन्दा अगाडि नै काम सम्पन्न भएमा तत्कालै लाइन चालू गरिने जनाएको छ। साथै मौसमको प्रतिकूलताका कारण कार्यतालिकामा सामान्य हेरफेर हुन सक्ने भन्दै लाइन भूमिगत भइसकेपछि विद्युत् आपूर्ति अझ सुरक्षित र भरपर्दो हुने विश्वास दिलाएको छ।

प्रतिकृया दिनुहोस्