यी हुन् एमाले सचिवालय बैठकका ९ निर्णयहरू
काठमाडौं : नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा विभिन्न प्रदर्शन कार्यक्रम तय गरेको छ। मंगलबार (चैत १७) ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो।
बैठकले ओली पक्राउप्रति भर्त्सना गर्दै विरोध कार्यक्रम अघि बढाउने निर्णय गरेको एमाले सचिव महेश बस्नेतले जानकारी दिए।
पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीलाई प्रतिशोधपूर्ण तथा बदला–प्रेरित भन्दै एमालेले आपत्ति जनाएको छ। साथै, उक्त विषयमा गरिएको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले प्रहरीमार्फत दमन गरेको आरोपसमेत लगाइएको छ।
यसै सन्दर्भमा सचिवालय बैठकले विभिन्न विरोध कार्यक्रम तय गरेको छ :
१. चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलनकेन्द्रित बृहत् भेला गर्ने ।
२. चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने ।
३. वैशाख ३ गते वडा तहमा भेला गर्ने ।
४. वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने ।
५. वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने ।
६. सरकारद्वारा विद्यार्थी तथा पेसागत संगठनहरूसम्बन्धी गरिएका गतिविधिहरूका विषय समेत समेटेर सबै जनसंगठनहरूले आ–आफ्नो ढंगले आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै पार्टीद्वारा घोषित आन्दोलनलाई प्रभावकारी बनाउन सहयोग गर्ने । साथै, भोलि (चैत १८) बिहान ११ बजे जनसंगठन संयन्त्रको बैठक पार्टी कार्यालयमा बस्ने ।
७. सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीनबहादुर शाही लाई जिम्मेवारी दिइयो ।
८. संसदभित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव पद्मा अर्याललाई दिइयो । साथै, भोलि दिउँसो ३ बजे संसदीय दलको बैठक पार्टी कार्यालयमा बस्ने ।
९. आन्दोलनका थप कार्यक्रम तय गर्न तत्कालै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरिएको छ ।

प्रतिकृया दिनुहोस्