पोखराको मेयरमा ‘लौरो’ लिएर उठेका पौडेल भन्छन् : आकाश खसोस्, बालेनले मातृभूमीलाई धोका दिन सक्दैन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबारे विभिन्न टिका टिप्पणी भइरहेका बेला गएको निर्वाचनमा शाहसँगै एउटै चुनाव चिन्ह (लौरो) लिएर पोखरा महानगरबाट मेयर पदमा चुनाव लडेका गनेश पौडेलले कडा प्रतिवाद गरेका छन् ।

पौडेलले बालेनले मातृभूमिलाई धोका दिन्छ भनेर पत्याउन नसकिने दाबी गरेका छन् । उनले बालेनले एक पैसा पनि भ्रष्टाचार नगर्ने दाबी समेत गरेका छन् ।

बालेनलाई स्वभाव, विचार, ज्ञान र चरित्रले चिनेको उल्लेख गर्दै उनी एक असल छोरा, भाइ, बुबा, पति, मित्र र नेपाली भएको टिप्पणी गरेका छन् ।

उनले बालेनको कार्यशैलीप्रति असहमति भए पनि उनले ‘मातृभूमिलाई धोका दिन्छ’ भनेर पत्याउन नसकिने दाबी गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म संसारका जस्तै कठोर झुटलाई पनि पत्याउन सकूँला, तर बालेनले १ पैसा भ्रष्टाचार गर्छ भनेर पत्याउन सक्दिनँ । म संसारका जस्तै धोकाधडीका कथालाई पत्याउँला तर बालेनले आफ्नो मातृभूमिलाई धोका दिन्छ भनेर पत्याउन सक्दिनँ ।’

उनले जेन–जी आन्दोलनपछि देशका सबै तह र तप्का सुधारोन्मुख बाटोमा रहे पनि एमाले र राजनीतिक विश्लेषकले सुधारको छाँट नदेखाएको उनको भनाई छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् :

जुनसुकै जनआन्दोलनले सन्देश होइन, आदेश दिन्छ। जेन-जी आन्दोलनले दिएको मुख्य आदेश नै सबै खालको निरंकुशताको अन्त्य हो। सबै प्रकारको सिन्डिकेटको बर्खास्ती हो।

यो आन्दोलनले सबै स्टेकहोल्डरहरूलाई आमूल परिवर्तनसहित सम्पूर्ण सच्चिएर आउन आदेश दियो। सरकारलाई, राज्य संयन्त्रलाई, सुरक्षा निकायलाई, दलहरूलाई, सञ्चारमाध्यमलाई, बौद्धिक समाजलाई, नागरिकलाई…

आन्दोलनको आदेशअनुसार सबैजना फेरिने कसरतमा छन्। कतिले फेरिएको सन्देश समेत दिइसकेका छन्। तर यस्तो लाग्दैछ, यी दुईटा मार्का कहिल्यै फेरिने भएनन्:

१) एमाले

२) राजनीतिक विश्लेषक

एमाले बदलिएर आउने कुनै सुरसार नै छैन। ओलीको निरंकुशताको अगाडि तलदेखि माथिसम्मका एमालेजनहरू लुगलुगु कामिरहेका छन्। एमालेकै अगुवाईमा संसद् विघटनलाई असंवैधानिक भन्दै सर्वोच्चमा रिट गयो भने अचम्म मान्नु पर्दैन।

उता केही राजनीतिक विश्लेषकहरू छन्, जो व्यक्तिले वा विचारले विगत ५० वर्षदेखि उही छन्। उस्तै छन्। उही अनुहार। उही एकतर्फी विवेचनाको रटान। उही अन्धभक्त पक्षपाती तर्क। उस्तै षड्यन्त्र सिद्धान्तको खेती। उही अदृश्य शक्तिको वकालत।

यो ज्ञानको निरंकुशता हो। जब बौद्धिक समाज नै एकतर्फी र निरंकुश हुन्छ, त्यो समाजको राजनीति सधैं अराजक हुन्छ। अस्थिर हुन्छ। खतरनाक हुन्छ।

यतिखेर नेपालका तिनै बुद्धिजीवीहरू अहिले एकखाले वैचारिक सिन्डिकेटको तानाबाना बुनिरहेका छन्। उनीहरूको सिन्डिकेट दुई सूत्रमा टुंगिएको छ:

१) जेन-जी आन्दोलनलाई बदनाम गर्ने

२) बालेनलाई वैदेशिक शक्तिबाट परिचालित सिद्ध गर्ने

यो सिन्डिकेटका सदस्यहरू आन्दोलनको भोलिपल्टबाट एउटै तर्क रटान गरेको गर्यै गरिरहेका छन्। किनकि यिनीहरूलाई थाहा छ, ‘खसीलाई कुकुर ठानेर छोडेको’ लोककथा। यिनीहरूले पढेका छन् गोयबल्सको तरिका:

“कुनै पनि झुटलाई यति पटक दोहोर्याएको दोहोर्याई गर कि मान्छेहरू त्यसलाई सत्य ठान्न बाध्य बनून् ।”

म यो सबै किन लेखिरहेको छु भने बालेन मेरो असल साथी हुन्। उनीमाथि भैरहेको (प्रभावहिन नै किन नहोस्) आक्रमण देखेर म कसरी मौन बस्न सक्छु ?

उनलाई मैले स्वभावले, विचारले, ज्ञानले, चरित्रले समेत नजिकबाट चिनेको छु। ऊ एक असल छोरा हो। असल भाइ हो । असल बाबु हो। असल पति हो। असल मित्र हो। असल नेपाली हो।

म संसारका जस्तै कठोर झूटलाई पनि पत्याउन सकूँला, तर बालेनले १ पैसा भ्रष्टाचार गर्छ भनेर पत्याउन सक्दिनँ। म संसारका जस्तै धोकाधडीका कथालाई पत्याउँला तर बालेनले आफ्नो मातृभूमिलाई धोका दिन्छ भनेर पत्याउन सक्दिनँ । बालेन कुनै विदेशीबाट परिचालित भयो भनेर विश्वास मान्न सक्दिनँ। म संसारका जोकोहीको जे सुकै कुरालाई शंका गर्न सक्छु, तर बालेनको देशभक्तिलाई शंका गर्न सक्दिनँ।

ऊ सर्वगुण सम्पन्न हो भन्दिनँ। उसको कार्यशैली सप्पै सही हो पनि भन्दिनँ । उसले गल्ती नै गर्दैन पनि भन्दिनँ । ऊ पनि मान्छे हो। गल्ती गर्छ। गल्ती सच्याउँछ । अघि बढ्छ। गल्ती र अपराध अलग कुरा हुन् । गल्तीलाई अपराधिकरण गर्ने मौकापरस्त बौद्धिक विवेचनाबाट समाजलाई जोगाउन पनि म यो लेख्दै छु ।

आकाश खसोस् । ताराहरू बुर्वुरी जमिनमा झरून् । जस्तै परिस्थिति आओस् तर बालेनले मातृभूमीलाई धोका दिन सक्दैन। दिन्नँ।

यो मेरो अमर्ख हो ।

केही बौद्धिकहरूको पुरातन सिन्डिकेटले आरोप लगाउँदैमा उसको देशभक्ति डग्मगाउँदैन ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा