काठमाडौँ – पाल्पामा सडक निर्माणमा संलग्न दुई मजदूरको शव कालीगण्डकी नदीमा भेटिएको छ।
राम्दी–रानीमहल सडक खण्डअन्तर्गत अस्थायी क्याम्पमा बसेर डोजर अपरेटरका रूपमा कार्यरत सिन्धुलीको गोलाचौर गाउँपालिका–६ निवासी २६ वर्षीय भोजराज अस्लामी मगरको शव कालीगण्डकी नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ। मगर फागुन २६ गते राति खाना खाएर क्याम्पमा सुतेका थिए। तर, २७ गते बिहान बिस्तरामा नभेटिएपछि खोजी शुरू भएको थियो। मोबाइल बिस्तारामै रहेको र सीसीटीभी फुटेजमा राति २ बजे क्याम्पबाट बाहिर निस्किएको देखिएको प्रहरीको भनाइ छ।
त्यसैगरी, सोही सडक खण्डमा मजदूरका रूपमा कार्यरत दाङको तुल्सीपुर उपमहानगरपालिका–३ निवासी ४५ वर्षीय तेजबहादुर रास्कोटीको शव पनि तीन दिनपछि कालीगण्डकी नदीमा फेला परेको छ। फागुन २९ गते नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका रास्कोटीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
दुवै घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
