काठमाडौं – सगरमाथाको दोस्रो शिविरसम्म बाटो निर्माणका लागि खटिएको ‘आइसफल डाक्टर’ टोली आधारशिविर पुगेको छ।
सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का अध्यक्ष लामाकाजी शेर्पाका अनुसार टोलीले आधारशिविरमा क्याम्प सेटअप सुरू गरिसकेको छ। आउँदो हप्तादेखि उनीहरू बाटो निर्माणको काम अघि बढाउनेछन्।
यसपटक छिरिङ तेन्जिङ शेर्पासहित आठ जना आइसफल डाक्टर खटिएका छन्। सहयोगीसहित ३० जनाको टोलीले एक महिनासम्म काम गर्नेछ। टोलीले आधारशिविरदेखि दोस्रो शिविरसम्मको रुट खोल्न डोरी टाँग्ने, भर्याङ राख्ने तथा हिउँ–बरफको अस्थिर संरचना हटाउने कार्य गर्नेछ।
सगरमाथा आरोहणका लागि आधारशिविरदेखि खुम्बु आइसफल हुँदै दोस्रो शिविरसम्मको बाटो खोल्ने जिम्मा पर्यटन विभागले सन् १९९७ देखि एसपीसीसीलाई दिँदै आएको छ। आइसफल डाक्टर टोलीले निर्धारित रुट तयार गरेपछि मात्र आरोहीहरूले आरोहण सुरू गर्न र त्यस माथिल्लो क्षेत्रमा डोरी टाँग्ने अनुमति पाउनेछन्।
यस वर्ष दोस्रो शिविरसम्मको बाटो खोल्न झण्डै ८० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। खुम्बु आइसफल क्षेत्र अत्यन्त जोखिमयुक्त भएकाले आइसफल डाक्टरहरू विशेष सावधानी अपनाएर काम गर्नेछन्।
