काठमाडौँ – संसद्मा दर्ता भएको एक महिनापछि सरकारले अध्यादेश प्रक्रिया अघि बढाउने भएको छ। प्रतिनिधि सभामा आज र राष्ट्रिय सभामा भोलि विभिन्न अध्यादेश अघि बढाउने तयारी छ।
सरकारलाई समर्थन गरेका दलसमेत विपक्षमा उभिएपछि भूमि सम्बन्धी अध्यादेश तत्काल अघि नबढ्ने भएको छ। राष्ट्रिय सभामा बहुमत सुनिश्चित गर्न नसकेको सरकारलाई जनता समाजवादी पार्टी (जसपा) नेपालको समर्थन निर्णायक हुनेछ। जसपाले भूमि अध्यादेशबाहेक अन्यमा सरकारलाई साथ दिने निर्णय गरिसकेको छ।
आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी अध्यादेश, २०८१’ प्रस्ताव पेश गर्नुहुनेछ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’ लगायतका आर्थिक अध्यादेश प्रस्ताव गर्नेछन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी अध्यादेश, २०८१’ प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। बैठकमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित टेबुल गरिनेछ।
प्रतिनिधि सभामा अध्यादेश पेश हुने भएपछि कांग्रेस र एमालेले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन ह्विप जारी गरेका छन्। बैठक दिउँसो १ बजे बस्नेछ।
