काठमाडौं – कलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सफाइ पाएका छन्। चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि संकलित रकम दुरुपयोग गरेको आरोपमा उनीहरूविरुद्ध उजुरी परेको थियो।
धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल र उपाध्यक्ष कुञ्जना घिमिरेविरुद्ध तत्कालीन कोषाध्यक्ष अनिल अधिकारीले २०७८ माघ २ गते अख्तियारमा मुद्दा दायर गरेका थिए। तर, अख्तियारको अनुसन्धानले सहयोग रकम नियमानुसार खर्च भएको निष्कर्ष निकालेको छ।
देश–विदेशका नेपाली तथा सरकारी निकायबाट संकलित ५७ करोड बढी रकम रंगशालामा खर्च गरिएको थियो। फाउन्डेसनले ३९ करोड ८० लाख बराबरको नगद तथा जिन्सी संकलन गरेकोमा १२ करोड सरकारी निकायबाट प्राप्त भएको थियो। रंगशालाको ३९ प्रतिशत काम सम्पन्न भएपछि थप स्रोत जुटाउन नसक्दा भरतपुर महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरिएको थियो।
महालेखा परीक्षकको प्रतिवेदनअनुसार हस्तान्तरणका बेला रंगशालामा ६३ करोड २२ लाख रूपैयाँ बराबरको काम भइसकेको थियो। तर, १८ करोड रुपैयाँ बराबरको निर्माण सामग्री उधारोमा लिइएको थियो, जुन भरतपुर महानगरपालिकाले तिर्न मानेको छैन। उधारोमा सामग्री आपूर्ति गरेका व्यवसायीहरूले धुर्मुसविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन्।
