सरकार सात बुँदे सहमतिअनुसार चल्नुपर्छ : नेता केसी

रुपन्देही । सत्ता साझेदार नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले वर्तमान सरकार सात बुँदे सहमतिलाई आधार बनाएर अघि बढ्नुपर्ने बताएका छन्।

नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले संसद्को पहिलो र दोस्रो ठूलो दलको सरकार गठन भए पनि नागरिकमा निराशा कायमै रहेको उल्लेख गर्दै सरकार गम्भीर हुनुपर्ने बताए। उनका अनुसार मुलुकमा सुशासनको अभाव र भ्रष्टाचार मौलाउँदै जानु नै नागरिक असन्तुष्टिको प्रमुख कारण हो।

सरकारले प्रभावकारी काम गर्न नसक्नुमा कांग्रेसका नेतृत्वकर्ता कमजोर हुनु पनि एक कारण रहेको केसीको धारणा छ। उनले संसद्भित्रका मात्र नभई संसद् बाहिर रहेका दलहरूलाई समेत समेटेर सर्वदलीय समिति गठन गरी संविधान संशोधन प्रक्रिया तत्काल थाल्नुपर्ने बताए।

त्यसैगरी, उनले सरकारले ल्याएका भूमिसम्बन्धी तथा सुशासनसम्बन्धी अध्यादेश फिर्ता गर्नुपर्ने माग गरे। ती अध्यादेशले नीतिगत भ्रष्टाचार बढाउने र स्वार्थ समूहलाई वैधानिक रूपमा फाइदा पुर्‍याउने उनको तर्क छ।

केसीले कांग्रेसको महाधिवेशन २०८४ को निर्वाचनअघि नै गर्नुपर्ने उल्लेख गर्दै २०८३ मंसिरभित्र सम्पन्न गर्नुपर्ने धारणा राखे। उनले निर्वाचनपछि महाधिवेशन गर्दा पार्टीको वैधानिक अस्तित्व संकटमा पर्ने चेतावनी दिए।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा