कपिलवस्तुमा शङ्करपुर ताल सिँचाइ योजना शुभारम्भ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कपिलवस्तुको विजयनगर गाउँपालिका–२, ३ र ४ मा ७०० हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्न निर्माण हुन लागेको शङ्करपुर ताल एकीकृत सिँचाइ तथा जलस्रोत संरक्षण योजनाको शुभारम्भ गरेका छन्।

ऊर्जामन्त्री खड्काले जलस्रोत व्यवस्थापन आयोजनाले निर्माण गर्न लागेको उक्त योजनाको मंगलबार शुभारम्भ गरेका हुन्। आयोजनाका लागि गत पुस २ गते बाबुल लुम्बिनी सांस्कृतिक जेभी सिद्धार्थनगर, रुपन्देहीसँग ठेक्का सम्झौता भएको थियो। परियोजना सम्पन्न भएपछि विजयनगरका १,७१५ घरधुरी लाभान्वित हुने आयोजनाका प्रमुख अविनाशी सिग्देलले जानकारी दिए।

शुभारम्भ समारोहमा मन्त्री खड्काले धेरै आयोजना सम्झौता भएर पनि अलमलमा पर्ने गरेको भन्दै उक्त परियोजनालाई तोकिएको समयमा पूरा गर्न निर्देशन दिए। उनले आयोजनाको सफल कार्यान्वयनका लागि स्थानीय समुदाय जागरूक बन्नुपर्नेमा जोड दिए।

कार्यक्रममा सांसद एवं पूर्वमन्त्री सुरेन्द्र आचार्य, सिँचाइ विभागका महानिर्देशक देवराज निरौलालगायत स्थानीय जनप्रतिनिधिको उपस्थिति थियो। कुल लागत १९ करोड रहेको यो आयोजना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा