जनकपुर – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीले आसन्न निर्वाचनका लागि गरेको गठबन्धन पवित्र वा अपवित्र भन्ने चुनावपछि थाहा हुने बताएका छन् । आज (बिहीबार) जनकपुरमा आयोजित एक कार्यक्रममा उनले गठबन्धन गर्ने भनिए पनि चार दलसँग कांग्रेसको केही नमिल्ने बताए । कांग्रेसले गर्न लागेको गठबन्धन ‘विचित्र’ भएको उनको भनाइ छ ।
उनले सरकार बनाउन मात्र गठबन्धन गरिए त्यसले दीर्घकालमा सबैलाई समस्या पार्ने बताए । ‘यो पवित्र हो कि अपवित्र गठबन्धन हो, निर्वाचनपश्चात् मात्र थाहा हुन्छ । आजै भन्न सक्ने अवस्था छैन । अहिले तपाईंहरूले सोध्नुभयो भने पनि म भन्न सक्दिनँ । तर, गठबन्धनमा रहेका चार दलको सिद्धान्त र विचार कांग्रेससँग मिल्दैन,” उनले भने ।
उनले भने, ‘एमालेलाई परास्त गर्न र भोलि सरकार बनाउन गठबन्धन गरेकै हो । हामीले स्थानीय निर्वाचनमा गठबन्धनको निणर्य गर्ने अधिकार पालिकालाई दिएका थियौँ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि केन्द्रीय समितिबाटै गठबन्धन गर्ने निणर्य भएको हो । गठबन्धन गर्ने निणर्य लेख्दा हामीले कांग्रेसले एकल बहुमत ल्याउने र सरकार बनाउने गरी गठबन्धन गर्ने भनी लेखेका छौँ ।’
उनले कांग्रेसले बहुमत ल्याउन कम्तीमा १०० सिटमा चुनाव लड्नुपर्ने बताए । त्योभन्दा सिट संख्या कम भए पार्टीभित्र विद्रोह सुरु हुने चेतावनी समेत उनले दिए ।
