काठमाडौं – नेपाल समाजवादी पार्टीले सो पार्टीका अध्यक्ष महिन्द्र राय यादवको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ ।
नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराईको अध्यक्षतामा बसेको कार्यकारिणी समितिको बैठक सो समिति गठन गरेको हो । सो समितिको सह संयोजकमा पार्टीका सहअध्यक्ष गंगा श्रेष्ठका साथै सबै केन्द्रीय पदाधिकारीहरू, प्रदेश इन्चार्जहरु र विभागीय प्रमुखहरु रहेका छन् ।
बैठकले मंसिर ४ गते हुने संघीय र प्रादेशिक निर्वाचनको घोषणापत्र लेख्ने जिम्मेवारी अध्यक्ष भट्टराईलाई दिएको छ । घोषणापत्र लेखन समितिमा एमपी रिजाल, डा.जनक शाह, ई. नहेन्द्र प्रधान, दुर्गादेवी भट्टराई, डा.गजाधर सुनार र जगदेव चौधरी रहेका छन् । बैठकले ९८ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनित गरेको छ । त्यस्तै, ९३ सदस्यीय राजनीतिक समिति पनि गठन गरेको अध्यक्ष भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले गोविन्दप्रसाद चौधरीलाई सहध्यक्षमा मनोनित गर्नुका साथै केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा विष्णुहरि शर्मा, विज्ञ परिषद् प्रमुखमा एमपी रिजाल र निर्वाचन आयोग प्रमुखमा कृष्णप्रसाद शर्मालाई जिम्मेवारी तोकिएको विज्ञप्तिमा उल्लेख छ ।
