सुडानको व्यस्त बजारमा भीषण ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते
काठमाडौँ । सुडानको पश्चिमी डार्फर क्षेत्रस्थित न्याला सहरको एक व्यस्त बजारमा सोमबार राति भएको भीषण ड्रोन हमलामा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ४० जनाभन्दा बढी घाइते भएका छन् । चिकित्सा स्रोत र प्रत्यक्षदर्शीहरूका अनुसार अर्धसैनिक बल ‘र्यापिड सपोर्ट फोर्सेज’ (आरएसएफ) को मुख्य पकड रहेको इलाकालाई लक्षित गरी आक्रमण गरिएको हो ।
प्रत्यक्षदर्शीहरूका अनुसार सहरको उत्तरी भागमा रहेको स्थानीय बजारमा सर्वसाधारण तथा युवाहरूको उल्लेख्य चहलपहल रहेका बेला रातको समयमा अकस्मात् ड्रोनबाट बम प्रहार भएको थियो । आक्रमणलगत्तै घाइतेहरूलाई स्थानीय न्याला अस्पताल पुर्याइएको थियो । अस्पतालका चिकित्सकहरूले २१ जनाको मृत्यु पुष्टि गर्दै मृतक तथा घाइतेमध्ये धेरैजसो सर्वसाधारण नागरिक परेको बताएका छन् ।
सुडानमा सरकारी सेना र अर्धसैनिक आरएसएफबिच सन् २०२३ को अप्रिलदेखि भीषण गृहयुद्ध चल्दै आएको छ । आरएसएफले रणनीतिक रूपमा महत्त्वपूर्ण न्यालालाई आफ्नो आधार इलाका बनाएर समानान्तर गतिविधि सञ्चालन गर्दै आएपछि सरकारी सेनाले त्यहाँ निरन्तर हवाई तथा स्थलगत कारबाही तीव्र पारेको छ ।
जारी द्वन्द्वमा पछिल्ला महिनाहरूमा आधुनिक ड्रोन प्रविधिको प्रयोग अत्यधिक बढेको छ, जसका कारण सर्वसाधारणको हताहतीमा भारी वृद्धि भएको छ । संयुक्त राष्ट्रसङ्घको पछिल्लो प्रतिवेदन अनुसार अक्टोबर महिनाको सुरुवाती तीन सातामै ड्रोन हमलामार्फत ३०० भन्दा बढी निर्दोष मानिसहरूको ज्यान गइसकेको छ भने लाखौँ मानिस विस्थापित हुन पुगेका छन् ।

प्रतिकृया दिनुहोस्