एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, देशभरबाट ३ हजार ३४७ प्रतिनिधि सहभागी हुने
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को आगामी मंसिरमा आयोजना हुन लागेको राष्ट्रिय भेलाको व्यवस्थापकीय तथा सांगठनिक तयारी तीव्र रूपमा अघि बढाइएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले भेलामा देशभरबाट ३ हजार ३४७ जना प्रतिनिधिहरू सहभागी हुने टुङ्गो लगाएको छ ।
पार्टीका अनुसार राष्ट्रिय भेलामा केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरू, केन्द्रीय आयोगका सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका अध्यक्ष तथा सचिवहरू, जनसंगठनका केन्द्रीय पदाधिकारी तथा विभिन्न विभागका प्रमुखहरूको अनिवार्य सहभागिता रहनेछ । भेलाको मूल उद्देश्य पार्टीको सांगठनिक सुदृढीकरण, वर्तमान राजनीतिक परिस्थितिको समीक्षा र आगामी कार्यभार तय गर्नु रहेको छ ।
यसैबिच, केन्द्रीय कमिटीमा मनोनीत भएका नयाँ सदस्यहरूको शपथग्रहण तथा अभिमुखीकरण कार्यक्रम समेत च्यासलमा सम्पन्न भएको छ । भेलालाई व्यवस्थित र भव्य बनाउन गठन गरिएका विभिन्न उपसमितिहरूले प्रचारप्रसार, आवास, भोजन तथा प्रतिवेदन लेखनको कार्यलाई तीव्रता दिएका छन् ।
पार्टी नेतृत्वले राष्ट्रिय भेलामार्फत पार्टीभित्रको वैचारिक स्पष्टता र संगठनात्मक एकतालाई थप मजबुत बनाउँदै आगामी राजनीतिक चुनौतीहरूको सामना गर्ने स्पष्ट मार्गचित्र प्रस्तुत गर्ने बताएको छ ।

प्रतिकृया दिनुहोस्