मौसममा ठूलो फेरबदल: चक्रवातको प्रभावले यी प्रदेशमा भारी वर्षा र हिमपातको चेतावनी, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने आगामी दिनमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को प्रभावसमेत पर्ने देखिएको छ। यस मौसमी प्रणालीका कारण आउँदो केही दिनसम्म देशका अधिकांश स्थानमा मौसम बदली हुनुका साथै वर्षा र हिमपातको सम्भावना रहेको छ। विशेष गरी बिहीबारदेखि सक्रिय हुने यो प्रणालीले जनजीवन र यातायात सेवामा समेत असर पार्न सक्ने भएकाले मौसम पूर्वानुमान महाशाखाले विशेष सतर्कता अपनाउन आह्वान गरेको छ।
यसैक्रममा, आगामी दिनहरूमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै भू-भागमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको आकलन गरिएको छ। विशेष गरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा तथा हिमपातको समेत उच्च सम्भावना रहेको छ। रातिको समयमा हिमाली तथा पहाडी भेगमा बादलको घनत्व अझ बढ्ने हुनाले मौसमी जोखिम थप कडा बन्न सक्ने देखिन्छ।
निरन्तरको वर्षा र हिमपातका कारण उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमआँधि र हिमपहिरोको जोखिम बढेको छ भने तराई तथा सहरी क्षेत्रका सडक र हवाई यातायात समेत प्रभावित हुन सक्छन्। धानबाली भित्र्याउने बेला भएकाले किसानहरूलाई पाकेको बाली तत्काल सुरक्षित स्थानमा भित्र्याउन सुझाव दिइएको छ। साथै, सम्भावित बाढी, पहिरो र चिसोबाट बच्न पूर्वतयारी अपनाउन तथा अत्यावश्यक कामबाहेक उच्च हिमाली क्षेत्रको यात्रा नगर्न सर्वसाधारण र सरोकारवाला निकायलाई विशेष अनुरोध गरिएको छ।
आगामी शनिबारसम्म मौसममा यसै प्रकारको बढी फेरबदल देखिने भए पनि आइतबारदेखि भने मौसममा क्रमिक सुधार आउने अपेक्षा गरिएको छ। आइतबारबाट देशका अधिकांश भू-भागमा आंशिक बदली मात्र रहने र पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा मात्र हल्का वर्षा वा हिमपातको सम्भावना रहनेछ। यद्यपि, बिहानको समयमा तराईका केही स्थान तथा उपत्यकाहरूमा हुस्सु र कुहिरो लाग्न सक्ने भएकाले यात्रा गर्दा सावधानी अपनाउन सुझाव दिइएको छ।

प्रतिकृया दिनुहोस्