November 4, 2026, Wednesday
KN hd tv

चितवनबाट ८० हजार थान प्रतिबन्धित पटाकासहित दुई भारतीय पक्राउ, ६ लाख बढीको सामग्री जफत

चितवन । प्रहरीले चितवनका विभिन्न स्थानबाट प्रतिबन्धित पटाकाजन्य विस्फोटक पदार्थसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । चाडपर्वलाई लक्षित गरी अवैध रूपमा भित्र्याइएको ६ लाख २३ हजार रुपैयाँभन्दा बढी मूल्यको पटाका र १ लाख ७२ हजार नगदसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा भारत मोतिहारी जिल्ला स्थायी ठेगाना भई हाल कालिका नगरपालिका-६ बस्ने ४१ वर्षीय सञ्जय साह तेली र भरतपुर महानगरपालिका-३ बाह्रघरे बस्ने २९ वर्षीय कन्हैया कुमार रहेका छन् ।

चितवन प्रहरी प्रमुख एवं एसपी रामेश्वर पौडेलका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उनीहरूको साथबाट भिरझिरे, खुर्सानी, चक्र, रकेट लगायत विभिन्न प्रकारका ८० हजार ३७२ वटा पटाका बरामद गरेको हो ।

पटाकाजन्य पदार्थले जनस्वास्थ्य, वातावरण र सुरक्षामा गम्भीर जोखिम निम्त्याउने भएकाले यसको ओसारपसार र बिक्रीमा पूर्ण प्रतिबन्ध लगाइएको छ । पक्राउ परेकाहरूमाथि विस्फोटक पदार्थ ऐनबमोजिम म्याद थप गरी कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको