एनपीएलमा पहिलो हार दशा कटे जस्तै भयो, डीआरएस नेपाली क्रिकेटका लागि ठूलो फड्को : ईशान पाण्डे
काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सका प्रभावशाली ब्याट्सम्यान ईशान पाण्डेले खेलमा हारजित र नतिजाको उतारचढावलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन्। पोखरा एभेन्जर्ससँगको प्रतिस्पर्धापछि आफ्नो धारणा राख्दै उनले सुरुआती खेलको हारले टोलीलाई पाठ सिकाएको र त्यो ‘दशा कटे जस्तै’ भएको प्रतिक्रिया दिए।
उनले अघिल्लो खेलमा टोलीले ब्याटिङ क्रममा नयाँ परीक्षण गर्दै आरिफ शेखलाई अग्रपङ्क्तिमा पठाएको भए पनि उचित साझेदारी जुट्न नसक्दा सोचेजस्तो नतिजा नआएको प्रस्ट्याए। प्रतियोगितामा भित्र्याइएको डिसिजन रिभ्यु सिस्टम (डीआरएस) को खुलेर प्रशंसा गर्दै पाण्डेले यस प्रणालीले मैदानमा हुने त्रुटिपूर्ण निर्णयहरू सच्याउन मद्दत पुर्याएको र खेलाडीहरूलाई मानसिक रूपमा सन्तुष्टि दिएको बताए।
यसैगरी बायाँ हाते स्पिनर अनिल खरेलको टोलीमा आबद्धताले सुदूरपश्चिम रोयल्सको बलिङ युनिट अझ सशक्त बनेको उनको भनाइ थियो। परिस्थितिअनुसार संयमित भएर क्रिज सम्हाल्नु नै टी–२० क्रिकेटको मुख्य सफलता रहेको बताउँदै उनले आगामी खेलहरूमा साझेदारीलाई प्राथमिकतामा राखेर मैदान उत्रिने प्रतिबद्धता व्यक्त गरे।

प्रतिकृया दिनुहोस्