कोशीमा सडक अवरुद्ध हुँदा आपतकालीन अवस्थामा स्वास्थ्य सेवा प्रवाह गर्न चुनौती

मोरङ – तीन दिनको अविरल वर्षाले सबैभन्दा धेरै कोशी प्रदेशमा क्षति पुर्‍याएको छ । वर्षाले डुबान, विस्थापित र घाइतेको सङ्ख्या बढ्दै जाँदा स्वास्थ्य सेवा प्रवाहमा थप चुनौती बढेकोे छ । मोरङ जिल्लामा मात्रै २५/३० परिवार विस्थापित भएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम समेत उच्च बनेको छ । सबै अस्पताल र स्वास्थ्य संस्थाका कर्मचारीलाई आलोपालो खटाइएको छ र आवश्यक औषधि तथा सामग्रीको अग्रीम तयारी गरिएको उहाँले बताउनुभयो । निर्देशक बस्नेतका अनुसार आपतकालीन अवस्थामा स्वास्थ्य सेवा अवरुद्ध नहोस् भनेर प्रदेशभरका द्रूत प्रतिक्रिया टोली सक्रिय अवस्थामा छन् ।

सङ्घीय तथा प्रदेशस्तरीय स्वास्थ्य क्लस्टरसँग निरन्तर समन्वय भइरहेको छ । स्वास्थ्य सेवामा अवरोध नहोस् भनेर स्वास्थ्यकर्मीलाई प्रभावित क्षेत्रमा खटाइए पनि सडक अवरुद्ध हुँदा उपचारमा चुनौती कायमै रहेको उहाँले बताउनुभयो । बिरामीलाई सदरमुकाम ल्याउन र मृतकको शव परीक्षण गर्न गाह्रो भइरहेको, तर कर्मचारीलाई सम्भव भएसम्म खटाइएको उहाँले जानकारी दिनुभयो ।

यसैबीच, कोशी अस्पतालका फिजिसियन डा. रोशन खड्काले बाढीपछि सङ्क्रामक रोग फैलिने जोखिम हुने भएकाले विशेष सतर्कता आवश्यक रहेको बताउनुभयो । उहाँँका अनुसार झाडापखाला, डायरिया, हैजा जस्ता रोग फैलिन सक्ने सम्भावना बढी छ ।

डाक्टर खड्काले प्रभावित परिवारलगायत सबैलाई उमालेको पानी पिउन, सरसफाइमा ध्यान दिन र सुरक्षित खाना मात्र खान गर्न आग्रह गर्नुभएको छ । स्वास्थ्य समस्या देखिए आफैंँले औषधि नखाई तत्काल नजिकैको स्वास्थ्य संस्थामा जान उहाँको सुझाव छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा