October 29, 2026, Thursday
KN hd tv

ताप्लेजुङमा पहिरोले घर भत्किँदा थुनिएका तीन जनाको सकुशल उद्धार

ताप्लेजुङ । सिदिङ्वा गाउँपालिका–३ आङखोपमा कुलोको पानी थुनिएर आएको पहिरोले घर भत्किँदा तीन जना परिवारका सदस्य घरभित्रै थुनिएका थिए। स्थानीयवासीले उनीहरूलाई सकुशल उद्धार गरेका छन्।

६१ वर्षीय हस्तबहादुर कटुवाल, उनकी श्रीमती ठगमाया कटुवाल र छोरी सम्झना कटुवाल पहिरोले घर पुरिएपछि थुनिएका थिए। बुधबार बिहान १ बजे घरमाथिको कान्लो भत्किएर पहिरो घरमै खसेको थियो। घर भत्किएको आवाजले मतानमा सुतेका छोराबुहारी ब्युँझिएर गाउँमा खबर गरेपछि गाउँले जम्मा भई उनीहरूलाई बाहिर निकालेका हुन्।

उद्धार गरिएकी ठगमाया कटुवाल घर भत्किँदा दलिन र ढुङ्गाले लागेर घाइते भएकी छन्। उनको थप उपचारका लागि गाउँबाहिर लैजाने तयारी भइरहेको छ। हस्तबहादुर र छोरी सम्झनालाई सामान्य चोटपटक लागेको छ। बिहान सिदिङ्वा गाउँपालिका केन्द्र साव्लाखु भञ्ज्याङबाट आएका स्वास्थ्यकर्मीले ठगमायाको उपचार गरिरहेका छन्।

छिमेकी मौसम लिम्बूका अनुसार पहिरोले घर पूर्ण रूपमा क्षति पुर्‍याएको छ। घरमा श्रीमान–श्रीमती बस्ने र खाना पकाउने गरिन्थ्यो भने मतानमा छोराबुहारी बस्ने गर्थे। बसोबासको लागि विकल्प भए पनि खाद्यान्न, भाँडा–कुचो लगायत सबै सामग्री पहिरोले बगाएको मौसमले बताए।

शीर्ष समाचार

धेरै पढिएको