October 28, 2026, Wednesday
KN hd tv

काँकडभिट्टाबाट १८ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात, आयात घटे पनि राजस्व बढ्यो

झापा । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा झापाको काँकडभिट्टा नाकाबाट कुल १८ अर्ब चार करोड ६० लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरिएको छ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार यो अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ (हवाई इन्धन) र मट्टितेल आयात भएको हो। गत वर्षको तुलनामा पेट्रोलियम पदार्थको आयातमा करिब पाँच दशमलव ६० प्रतिशतले गिरावट आए पनि राजस्व भने पाँच दशमलव ७० प्रतिशतले वृद्धि भएको छ।

कार्यालयका तथ्यांकअनुसार चालु आवको ११ महिनामा पेट्रोलियम पदार्थबाट आठ अर्ब ७८ करोड २७ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ।

त्यसै अवधिमा, आठ अर्ब ११ करोड ५९ लाख मूल्य बराबरको ९३ हजार ८२४ किलोलिटर पेट्रोल र छ अर्ब २६ करोड ७१ लाख मूल्य बराबरको ६८ हजार ८२० किलोलिटर डिजेल आयात भएको छ।

यस्तै, दुई अर्ब ५९ करोड रुपैयाँ मूल्य पर्ने २३ हजार ४३८ मेट्रिक टन एलपी ग्यास, ६१ करोड २० लाख मूल्य बराबरको छ हजार ७०८ किलोलिटर एटीएफ र २२ करोड ७१ लाख मूल्य बराबरको दुई हजार ५२० किलोलिटर मट्टितेल आयात भएको मेची भन्सार कार्यालयले जनाएको छ।

शीर्ष समाचार

धेरै पढिएको