October 22, 2024, Tuesday
KN hd tv

सुदूरपश्चिममा सरकार हराएको भन्दै विपक्षी सांसदले टर्च बालेर गरे खोजी

कैलाली । सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको तेस्रो बैठकमा सरकार पक्ष सहभागी नभएपछि प्रतिपक्षी दलले सांकेतिक रुपमा विरोध जनाएका छन् ।

मन्त्रीको अनुपस्थितिमा बैठक चल्न नसक्ने भन्दै सभामुख भीमबहादुर भण्डारीले अनिश्चितकाललाई बैठक स्थगित गरेपछि प्रतिपक्षी दल कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले प्रदेश सभा भवन अगाडि टर्च बालेर सरकार खोज्दै सांकेतिक विरोध जनाएका हुन् ।

उनीहरूले मोबाइलको फ्ल्यास लाइट बालेर विरोध जनाएका हुन् । एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले प्रदेशका नागरिक बाढी, पहिरो प्रभावित भएका बेला सरकारले प्रदेश सभाको बैठक समेत छलिरहेको भन्दै विरोध गरे । सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको बैठक स्थगित भएको छ । आज (सोमबार) दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा सरकार पक्ष अनुपस्थित भएपछि बैठक स्थगित भएको हो ।

प्रदेश सभा बैठकमा सरकारको प्रतिनिधिको रुपमा मन्त्रीको उपस्थिति नभएकाले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको सभामुख भीमबहादुर भण्डारीले जानकारी दिएका छन् । सुदूरपश्चिमम प्रदेश सभा नियमावली २०८० को नियम ६ को उपनियम ५ ले मन्त्रीको उपस्थित अनिवार्य गरेको  छ । अल्पमतमा रहेका मुख्यमन्त्री दीर्घबहादुर सोडारीसहित अन्य ५ मन्त्री संसद छल्दै आएका छन् ।

विशेष अधिवेशनको पहिलो र दोस्रो बैठकमा कृषिमन्त्री टीका थापा उपस्थित भएर बैठक सञ्चालन भएको थियो । बैठकमा सहभागी नहुने मुख्यमन्त्री सोडारीको रणनीति विपरित बैठकमा सहभागी भए पनि आइतबार कृषिमन्त्री थापा बर्खास्तमा परेकी छन् ।

२० असारमा एमालेले समर्थन फिर्ता लिएपछि बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने मुख्यमन्त्री सोडारीको तयारी थियो । एमाले र कांग्रेसले प्रदेश प्रमुख नजिर मियाँसमक्ष समावेदन पेश गर्दै विशेष अधिवेशन माग गरेर  सोडारीलाई अध्यादेश ल्याउनबाट रोकिएको थियो । त्यसपछि सोडारी नेतृत्व सरकार विशेष अधिवेशनको बैठकमा सहभागी भएको छैन ।

शीर्ष समाचार

धेरै पढिएको