काठमाडौं – सत्तारुढ गठबन्धनभित्र तीन तहको चुनाव एकैपटक गर्ने वा पहिले संसदीय चुनाव गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ । सत्ता गठबन्धनभित्रको माओवादी, एकीकृत समाजवादी र जसपा कुनै पनि हालतमा वैशाखमा स्थानीय चुनाव गराउने पक्षमा छैनन् । जसमा सत्ता गठबन्धनको उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सहमति जनाएका थिए ।
एक साताअघि गठबन्धनको बैठकमा पौडेलले पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावबारे राखेको प्रस्तावमा सहमति जनाउँदै तीनै तहको चुनाव एकै पटक वा पहिले संसदीय चुनाव गरेर समस्याको निकास खोज्नुपर्ने धारणा राखेका थिए ।
अर्कोतिर आगामी चुनावमा गठबन्धन नै गरेर जानुपर्ने लाइनमा कांग्रेसको संस्थापन पक्ष छ । प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले निर्वाचनमा समीकरण बनाएरै जानुपर्ने धारणा राखिरहेका छन् ।
तर, गठबन्धनभित्रको पछिल्ला छलफलहरुमा कांग्रेस भित्रकै संस्थापन इतरको समूह भने विरोधमा देखिएको छ । शेखर कोइराला नेतृत्वको समूहले एकातर्फ चुनाव तोकिएकै समयमा हुनुपर्ने अडान राखिरहेको छ भने अर्कोतर्फ कुनै पनि चुनावमा गठबन्धन गर्न नहुने बताइरहेको छ । कोइराला समूहले तीनै तहको चुनाव एकै पटक गर्नुपर्ने विषयमा पनि कडा असहमति जनाएको छ ।
कोइराला समूहले गठबन्धनभित्रको पछिल्लो छलफललाई असफल बनाउन सामूहिक रुपमै दबाब दिने नीति पनि लिएको छ । समूहले बेग्लै बैठक नै राखेर गठबन्धनभित्र भइरहेको छलफलप्रति असहमति राखेको छ ।
कोइराला समूह गठबन्धनभित्रको पछिल्ला छलफलहरुको विरोधमा छ । फरक धारणा राखिरहेको समूहले सत्तारुढ दलहरु बीच साझा एजेण्डा खोज्न बनेको उच्चस्तरीय राजनीतिक समन्वय समितिकै वैद्यतामाथि प्रश्न उठाइरहेको छ ।
समूहले गठबन्धनको नाममा तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले जस्तै व्यवहार अपनाउन थालिएको निष्कर्ष निकालेको छ । सोमबार भएको समूहको छलफलमा नेताहरुले गठबन्धन नै कांग्रेसका निम्ति घातक भएको निष्कर्षसमेत निकालेका थिए ।
कोइराला समूहका एक नेताका अनुसार आगामी चुनाव कांग्रेस अनुकुल छ । जसमा गठबन्धनको साथ लिएर लड्नु कांग्रेसलाई सिध्याउनु हो । साथै पार्टी विभाजनसँगै अप्ठ्यारोमा परेका दलहरुलाई सघाउन कांग्रेस बलि हुन नहुने उनले बताए ।
“हामी अरुका निम्ति बलि बन्न आवश्यक छैन, संविधान र कानून जे छ त्यसलाई कांग्रेसले स्वीकार गर्दै आएको छ” समूहका ति नेताले भने, “हाम्रा नेता तथा कार्यकर्तामाथि नै अपमान गर्ने गरि गठबन्धन बनाइने र गठबन्धनको पछाडि लाग्नुपर्ने आवश्यकता छैन, सभापति जि जसरी हिँड्नु भएको छ, त्यो सधैं सम्भव छैन ।”
