नेपाली कांग्रेसका १२ जना नेताहरूले न्यायालय शुद्धीकरणका लागि भइरहेको लडाइँका पक्षमा पार्टी उभिनुपर्ने बताएका छन्।
आज संयुक्त विज्ञप्ति जारी गर्दै कांग्रेसका केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, जीवन परियार, गुरूराज घिमिरे, प्रदीप पौडेल, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले स्वतन्त्र न्यायपालिकाविना कांग्रेसले विश्वास गरेको उदार लोकतन्त्र संरक्षण सम्भव नभएको पनि बताएका छन्।
‘स्पष्ट छ- न्यायपालिकाको नेतृत्वको शुद्ध न्यायिक आचरणविना न्यायपालिकाको स्वतन्त्रता सम्भव हुँदैन। अनि न्यायपालिकाको स्वतन्त्रताविना कांग्रेसले बिश्वास गरेको उदार लोकतन्त्रको संरक्षण सम्भव छैन,’ उनीहरूले भनेका छन्, ‘अहिलेको अवस्थामा कांग्रेस स्पष्ट दृष्टिकोणका साथ न्यायलय शुद्धीकरणको लागि भइरहेको लडाइँको पक्षमा उभिनु पर्छ। लोकतन्त्र र न्यायको आधारभूत मर्ममाथि हुने सबै किसिमका प्रहारलाई रोक्नु र अदालतप्रतिको जनविश्वासलाई डगमगाउन नदिनु कांग्रेसको प्रमुख दायित्व हो।’
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले सरकारमा भाग खोजेको विषयलाई लिएर उनको राजीनामा माग भइरहेका बेला कांग्रेसका नेताहरूले उक्त विज्ञप्ति निकाल्दै न्यायालय शुद्धीकरणको अभियानमा साथ दिनुपर्ने बताएका हुन्।
