April 29, 2024, Monday
२०८१ बैशाख १८, मंगलवार
KN hd tv

सन्दीपको मुद्दा ढुंगेल र अवस्थीको इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ उच्च अदालत, पाटनमा सुरु भएको छ । न्यायाधीश मुनेद्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा खाजा समयपछि सुनुवाई सुरु हुन लागेको हो ।

जिल्ला अदालत, काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरेपछि सन्दीप उच्च अदालत पुगेका हुन् । सन्दीपको मुद्दामा आजै फैसलाको सम्भावना रहेको छ । यसअघि सन्दीपलाई १३ पुसमा निरन्तरको बहसपछि न्यायाधीश शिशिरराज ढकालको इजलासले दोषी ठहर गरेको थियो । जिल्ला अदालत, काठमाडौंले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरे पनि किशोरी नाबालिग नरहेको फैसला गरेको थियो ।

२५ पुसमा उनलाई अदालतले ८ वर्ष कैदसहित ३ लाख जरिवाना र २ लाख क्षतिपूर्ति भराउन आदेश दिएको थियो । त्यसपछि सन्दीप गत १० फागुनमा जिल्ला अदालतको आदेश विरुद्ध पुनरावेदनका लागि उच्च अदालतमा पुगेका थिए । त्यस्तै, १ चैतमा सरकारी पक्ष पनि पीडित ‘गौशाला २६’ नाबालिक रहेको भन्दै उच्च अदालतमा पुगेको थियो ।

अदालतले गत २३ चैतमा औपचारिक रूपमा मुद्दालाई प्रवेश दिँदै आज (सोमबार) का लागि पेसी तोकेको थियो । पाटन उच्च अदालतमा न्यायाधीश नृपधोज निरौला र कृष्णराम कोइरालाको संयुक्त इजलासले मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै दुबै पक्षलाई नियमअनुसार जानकारी गराउन आदेश दिँदै आजका लागि पेसी तोकेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको