May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार
KN hd tv

सामान्य अवस्थामा फर्कियो हिमपहिरो खसेर असन्तुलित बनेको वीरेन्द्र ताल

गाेरखा – मनास्लु हिमालबाट हिमपहिरो खसेर असन्तुलित बनेको गोरखाको वीरेन्द्र ताल सामान्य अवस्थामा फर्कन थालेको छ ।

हिजो बिहान ठूलो हिमपहिरो तालमा खसेपछि तालको पानी छछल्किएर असन्तुलित बनेको थियो । तालको पानी बाहिर निस्किएर बूढीगण्डकी नदीमा मिसिएकोमा अहिले अवस्था सामान्य बनेको गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताउनुभयो । हिमालबाट तालमा पहिरो खस्ने क्रमसमेत रोकिएको छ । तर यो घटनाले नेपालका हिमतालको जोखिमबारे पनि झक्झकाएको विज्ञहरूले बताएका छन् ।

हिमपहिरो खस्दा वीरेन्द्र ताल फुट्नबाट जोगिएको भए पनि धेरैजसो हिमताल फुट्ने जोखिम हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका जलवायु परिर्वतन तथा वातावरण सल्लाहकार डा. पपुलर जेन्टलले बताउनुभयो । हिमतालको पानी पुग्ने नदी तटीय क्षेत्रमा पर्याप्त सावधानी र जोखिम न्यूनीकरणमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । हिमतालबाट हुनसक्ने क्षति घटाउन पूर्वसूचना प्रणालीको विकास र समुदायस्तरमा सचेतनाका कार्यक्रम चलाउनुपर्ने उहाँले बताउनुभयो ।

यस्तै जलवायु विज्ञ डा. विमल रेग्मीले हिमालय क्षेत्रमा देखिएको पर्यावरणीय असुन्तलनसँग जलवायु परिवर्तनको प्रत्यक्ष सम्बन्ध रहेको बताउनुभयो । अहिले नयाँ ताल बन्ने, सानो आकारमा रहेका तालको आकार बढ्ने तथा हिमपहिरोका कारण ताल फुट्ने जोखिम पछिल्लो दिनमा बढेको उहाँको भनाइ छ ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द (इसिमोड) र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले संयुक्तरूपमा गरेको अध्ययनले नेपालका २१ हिमताल जोखिममा रहेको देखाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको