July 27, 2024, Saturday
KN hd tv

संयुक्त विद्यार्थी संगठनको ज्ञापनपत्र बुझ्दै देउवाले भने- पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे पुनर्विचार गर्छु

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त विद्यार्थी संगठनका नेताहरुलाई पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विषयमा पुनर्विचार गर्ने बताएका छन्।

मूल्यवृद्धिको निर्णय फिर्ता लिन माग गर्दै प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउन बुधबार बिहान बालुवाटार पुगेका संयुक्त विद्यार्थी संगठनका नेतहरुसँग देउवाले उक्त कुरा बताएका हुन्। मूल्यवृद्धिका विषयमा परामर्श गरेर एउटा निर्णयमा पुग्ने प्रधानमन्त्रीले बताए।

‘तपाईंहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका विषयमा जुन कुरा उठाइरहनुभएको छ, त्यो माग जायज छ। त्यस विषयमा सम्बन्धित निकायसँग परामर्श गर्छु। मूल्य समायोजन गर्ने ठाउँ भएमा निर्णय लिन्छु,’ देउवाको भनाइ उद्धृत गर्दै अखिल क्रान्तिकारीका नेता मिलन एमसीले भने,‘तपाईंहरुले सरकारलाई आवश्यक परेको बेलामा रचनात्मक सहयोग गर्न तयार हुनुस्। विद्यार्थी संगठनले सधैं विरोध गर्नेमात्रै होइन।’

विद्यार्थी संगठनका नेताहरुले सरकारले पेट्रोलिम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए देशैभर कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको एमसीले बताए।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दा दैनिक जीवन चलाएर खाने वर्गलाई सबैभन्दा बढी असर पर्ने विज्ञप्तिमा उल्लेख छ। उद्योग मन्त्रालयको जिम्मेवारीसमेत देउवाले सम्हालेकाले विद्यार्थी संगठनका नेताहरु उनलाई भेटेर ज्ञापनपत्र बुझाउन गएका हुन्।


शीर्ष समाचार

धेरै पढिएको